एनसेल छानविन समितिले काम गर्न सक्दैनः पूर्वकार्यवाहक महालेखापरीक्षक खत्री (भिडियो सहित)
वि.सं.२०८० मंसिर २४ आइतवार १९:३५
shares

काठमाडौं । पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्रीले सरकारले गठन गरेको एनसेलको शेयर खरिद, बिक्रि प्रकरण छानविन समितिले विश्वसनीय ढंगले काम गर्नेमा आशंका व्यक्त गरेका छन ।
आईतवार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’ विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै उहाँले छानविन समितिको विश्वसनीयताप्रति आशंका व्यक्त गरेका छन । उनले सरकारको वृत्तिविकास खाएको पदाधिकारीले काम गर्न सक्नेप्रति प्रश्न उठाएका छन । उनले सरकारले गठन गरेको छानविन समितिले काम नगर्ने बताए । सरकारले आफ्नो पक्षमा ल्याउनका लागि मात्रै समिति गठन गरेको उनको भनाई छ ।
उनले भने,– ‘एनसेल लगायतका अगाडीका छन् नि त्यो करको बारेमा कुरा उठ्ने कि नउठ्ने ? सरकारले छानविन आयोग गठन गर्ने रे तर यो गठन गरेर त्यसले काम गर्दैन । त्यसको विश्वसनीयता, नागरिकले विश्वास गरेको मान्छे छ, छैन त्यो पनि हेरौँ । सरकारी पदाधिकारी वृत्तिविकास खाएका मान्छे राखेर त्यसले केही गर्नसक्छ ? अर्को कुरा भएका कानूनहरु, आयकर ऐन, कम्पनी ऐन, दूरसञ्चार ऐनलाई अवमूल्यन गर्ने काम भएको छ । त्यो ऐनबाटै कार्यान्वयन हुनुपर्छ । आयोग गठन गर्ने भनेको आफ्नो पक्षमा ल्याउनको लागि हो । यहाँ त आवरण छ । यो एउटा चलखेलको माध्यम बनाएको भन्छु ।’
त्यस्तै कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले स्थानीय तहमा भ्रष्टाचार भइरहेका कारण संघीयतामाथि प्रश्न उठेको बताए । उनले मधेश र जनजातिलाई विश्वासमा नलिइकन संघीयता खारेजीको एकोहोरो रटान गर्नु आत्मघाती हुनसक्ने धारणा राखेका छन । उनले एनसेलको पैसा नखाएकाहरु सत्तामा पुग्ने कोही पनि नभएका भन्दै एनसेल प्रकरणको सम्बन्धमा आफुहरुले आन्दोलन गर्ने जानकारी दिए ।
उनले भने, – ‘सिंहदरबारको भ्रष्टाचार पनि गाउँ गाउँ गयो । त्यसकारण संघीयतामाथि प्रश्न उठ्यो । जड भनेको चाहीँ के हो त भन्दा भ्रष्टाचार नै हो । कुशासन नै हो । मधेश र जनजातिलाई विश्वासमा नलिइकन संघीयता खारेजीको एकोहोरो रटान गर्नुभयो भने आत्मघाती हुनसक्छ । देशमा एनसेलको पैसा नखाएका, विचौलियाले नचलाएका जो सत्तामा आएपनि धेरै कम मान्छे मात्रै छौँ । हामी आन्दोलन गर्दैछौँ एनसेलको कुरा लिएर ।’
राजनीतिशास्त्रका प्राध्यापक तथा लेखक लोकराज बरालले देशमा गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको मूल्यलाई भित्रैबाट आत्मसात् नगरिएको बताए । उनले नेपालीहरु परिवर्तन गर्न माहिर भएपनि परिवर्तनलाई संस्थागत गर्ने आचारण र संस्कृति भने नभएको बताए । सबैको दिमागमा अस्थिरता मात्रै रहेको भन्दै उहाँले त्यस्तो सोचाइ राख्नु नहुने बताए ।
उनले लोकतन्त्रप्रति सबैको प्रतिवद्धता आवश्यक भएको बताए ।





















