पारदर्शिता कम हुँदा आज बिहान काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित

काठमाडौं । पारदर्शिता कम हुँदा आज बिहान काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित भएका छन् । बिहान नौ बजेपछि पारदर्शिता बढ्दै गएकाले अब भने आन्तरिक उडान सुरु गर्ने तयारी भइरहेको छ ।

आज बिहान काठमाडौं उपत्यकामा हुस्सु-कुहिरो लागेको थियो । बाक्लो कुहिरोका कारण भिजिबिलिटी -पारदर्शिता) कम हुँदा आन्तरिक उडान हुन सकेका थिएनन् । अन्तर्राष्ट्रिय उडान भने भइरहे ।तर बिहान नौ बजेपछि पारदर्शिता बढ्दै गएकाले उडान सुरु गर्ने तयारी छ । पारदर्शिता १२०० मिटर पुगेपछि आन्तरिक उडान समेत सुरु गर्ने तयारी गरिएको विमानस्थल कार्यालयले स्रोतले बतायो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो भनिन्छ भने एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ ।

आज बिहान तराईका जिल्लाहरुमा पनि हुस्सु र कुहिरो लागेको थियो । सबैभन्दा कम पारदर्शिता बाँकेको नेपालगञ्जमा थियो । नेपालगञ्जमा आज बिहान कुहिरो लागेकाले जम्मा २०० मिटर मात्र पारदर्शिता थियो ।

आज बिहान ६ बजेदेखि नै माउन्टेन फ्लाइटसमेतका उडान स्थगित भएका थिए । लुक्ला, ताप्लेजुङ, सुर्खेत, पोखरा, भैरहवा र नेपालगञ्ज लगायतका स्थानमा उडान डिले हुने र स्थगित हुने भइरहेको थियो ।

पश्चिमी वायुको प्रभावले पश्चिम नेपाल र पहाडी क्षेत्रको मौसम खराब भएकाले पनि हवाई उडान प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम तराई र पहाडी क्षेत्रको मौसम आज अपराह्नपछि क्रमशः सुधार हुँदै जाने छ । पश्चिम तराई, मध्य तराई र पूर्वी तराईमा लागेको हुस्सु पनि मध्याह्नसम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

पश्चिम तराई भन्नाले कञ्चनपुरदेखि पश्चिम नवलपरासीसम्मको भूभागलाई बुझिन्छ । मध्य तराई भन्नाले चितवनदेखि धनुषासम्म र पूर्वी तराई भन्नाले सिरहादेखि झापासम्मको क्षेत्रलाई बुझिन्छ ।

२२,माघ.२०८०,सोमबार १०:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्