शान्तीबाटिकामा बन्दोबस्तिका सामानसहित अड्डा जमाइरहेका थिए मिटरब्याज ऋणी, महानगरले लगायो ताल्चा

काठमाडौं । रत्नपार्कस्थित शान्ति बाटिकामा लामो समयदेखि धर्नामा बसेकाहरूलाई आज बिहानै काठमाडौं महानगरबाट परिचालित नगर प्रहरीले धपाएको छ । त्यहाँ मिटर ब्याज पीडितहरू र अन्य छिटपुट आन्दोलनकारी विभिन्न माग राखेर धर्नामा थिए ।

यसअघि आन्दोलनकारीहरूका लागि स्थायी धर्नास्थलका रूपमा माइतीघर रहेको थियो । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरलाई निषेधित क्षेत्र तोकेपछि प्रदर्शनकारीहरू त्यहाँबाट लखेटिए । अहिले त्यहाँ कुनै पनि खाले आन्दोलनकारीलाई ढिम्किन दिइएको छैन ।

माइतीघरलाई निषेधित क्षेत्र बनाइएपछि प्रदर्शनकारीका लागि भृकुटीमण्डपमा स्थान तोकिएको थियो । तर मिटरब्याज पीडितहरू भने शान्तिबाटिकामा बस्न थाले । त्यसयता उनीहरूले शान्तिबाटिकालाई स्थायी आवासजस्तै बनाएका थिए । त्यहीँ भाँडाकुँडा र चुल्हो राखेर पकाउने–खाने गरिएको थियो । भित्रै लुगा सुकाउने गरिन्थ्यो । त्यहाँको फोहोर रानीपोखरीमा पनि फाल्ने गरिएको थियो ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मिटरब्याज पीडितले ११ महिनादेखि शान्त बाटिका कब्जा गरेकाले हटाउनु परेको बताए ।

‘तत्कालीन अवस्थामा मैले नै उनीहरूलाई त्यहाँ केही दिनका लागि धर्ना बस्ने व्यवस्था मिलाएको थिएँ। तर, उनीहरूले यसैलाई स्थायी आवासजस्तै बनाउन खोजे । भित्रै पकाउने खाने गरिरहेका थिए । यसले गर्दा रानीपोखरी पनि फोहोर भयो । त्यसैले हटाउनुको विकल्प भएन,’ उनले भने ।

जिप्रका काठमाडौंले माइतीघरको विकल्पमा शान्ति बाटिकामा धर्ना बस्न सकिने बताउँदै आएको छ । तर, पाण्डे भने अब त्यो ठाउँमा प्रदर्शन गर्न नदिने बताउँछन् ।

उनले भने, ‘अब शान्ति बाटिकालाई खाली राख्छौँ । प्रदर्शनका लागि कसैलाई पनि अनुमति दिइने छैन ।’

नगरप्रहरीले सबै प्रदर्शनकारीलाई निकालेर गेटमा ताल्चा लगाइदिएको छ । अहिले प्रदर्शनकारीहरू शान्तिबाटिका बाहिर सडकमा छन् । बन्दोबस्तिका सामानहरू सडकपेटिमा असरल्ल थुपारिएको छ ।

२३,माघ.२०८०,मंगलवार १२:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्