नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते हुने तयारी(भिडियो सहित)

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङमार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै नागढुंगा सुरुङमार्ग आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले यस्तो जानकारी दिएका हुन्।

उनले आगामी मार्च ६ तारिक अर्थात फागुन २३ गते सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्नेगरी काम भइरहेको बताए । उनले मुख्य सुरुङ २.६८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको बताए । सुरुङ निर्माण गर्दादेखि धादिङ र काठमाडौंतर्फ केही मुआब्जा लगायतका समस्या केही समस्या अझै बाँकी रहेको उनको भनाइ छ ।

उनका अनुसार अहिलेसम्म २ हजार ६ सय ३६ मिटर सुरुङ खन्ने काम सकिएको छ । समग्र आयोजनाको भौतिक प्रगति ६८.५ प्रतिशत र ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएको छ । उले एउटा फ्लाई ओभर निर्माणको क्रममा रहेको छ । डुमरुले अहिलेसम्म ७१ दशमलव ८७ प्रतिशत भौतिक काम सम्पन्न भएको र ३२ मिटर अझै सुरुङ खन्ने काम बाँकी रहेको जानकारी दिए ।

उनले भने,‘विभिन्न कम्पनेन्ट ब्रिक डाउन गर्दा आयोजनाको हालसम्मको प्रगतिमा ६८.५ प्रतिशत सुरुङ मार्ग लगायतमा खर्च भएको छ । घर टहराको ९५ प्रतिशत मुआब्जा पूरा भएको छ तर थोरै मात्रै मुआब्जाको समस्या बाँकी छ । मुख्य सुरुङ मार्गको ब्रेक थु्र मार्च ६ मा राख्ने तयारी रहेको छ । हालसम्म ३२ मिटर मात्रै सुरुङ खान्न बाँकी रहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ४४ प्रतिशत काम भएको छ ।’

समिति बैठकमा सांसदहरूले सुरुङमार्ग निर्माण गर्दा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी निर्माण कार्यलाईलाई अगाडि बढाउनुपर्ने धारणा राखे । राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले समितिलाई आयोजनाले झुटो बोलेको बताए । उनले समितिलाई आयोजनाले ठगिरहेको भन्दै वर्तमान प्रविधिको युगमा समेत समितिलाई यकिन अवस्थाको विषयमा जानकारी दिन नसक्नु राम्रो नभएको बताए । २०८०/८१ भित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्ने बताए ।

उनले भने,‘ नागढुङ्गा सुरुङ मार्ग खन्न ३२ मिटर बाँकी भन्नुभएको छ । यकिन भन्नुभएको छैन । समितिमा आउँदै गर्दा फोनबाट रिपोर्ट लिएको भए हुन्थ्यो । १९ गतेसम्मको रिपोर्ट भन्नहुन्छ । आयोजनाले संसदलाई झुट बोल्नुभयो । ठगि राख्नुभएको छ । हामीलाई ठग्दा तपाईलाई फाइदा हुन्छ । तपाई आफैँ ठगि रहनुभएको छ । अहिलको प्रविधिअनुसार काम गर्न सक्नुभएको छैन । २०८०/८१ भित्र निर्माण सम्पन्न गर्ने भनिएको छ ।समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्ने होला । स्रोत सुनिश्चिता भएन भन्ने होला । ठेक्का लिएपछि समयमा निर्माण सम्पन्न नगर्ने लागत र महँगी बढेको मात्रै खेख्ने हुँदा हामी कहाँ पुग्छौं । सरकारले कुनैपनि आयोजना शुरु गर्दा शुरु जसले गर्छ त्यसलाई अन्तिमसम्म आयोजना जिम्मा दिनुपर्छ । जसले समयमा आयोजना पूरा गर्छ उसलाई सम्मान र काम नगर्नेलाई कारबाही गर्नुपर्छ ।’

नागढुङ्गा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेल (उद्धार सुरुङ) को ‘ब्रेक थ्रु’ यसअघि नै भइसहेको छ । २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । नागढुङ्गा–नौबिसे सुरुङ मार्गको २.६ किमी लम्बाइ रहेको छ ।

२३,माघ.२०८०,मंगलवार १७:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्