रुपन्देहीमा १६ वर्षपछि सर्वाधिक राशीको राष्ट्रिय भलिबल प्रतियोगिता

रुपन्देही । माघ २६ गतेदेखि यस क्षेत्रमा सबैभन्दा धेरै राशीको भलिबल प्रतियोगिता रुपन्देहीमा सुरु हुन लागेको छ । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा ९ औ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०८० मा सहभागी हुन विभागीय टीमसहितका सबै प्रदेशका टोली यहाँ आइपुगेका छन् ।
प्रतियोगितामा उपाधि विजेताले नगद २ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र, द्वितीय पुरस्कार नगद १ लाख ५० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसै गरी तृतीय टिमले नगद १ लाख रुपैयाँ तथा सान्त्वना टीमले नगद ५० हजार, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसै गरी विधागत सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, कप, मेडल तथा उत्कृष्ट स्पाईकर, सेटर, सर्भर, ब्लकर, डिफेन्स, प्रशिक्षक, अनुशासित र उदयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ, कप र प्रमाणपत्रबाट पुरस्कृत गरिने व्यवस्था पनि रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताका खेलहरू भलिबलको अन्तर्राष्ट्रिय नियमअनुसार नेपाल भलिबल संघका अफिसियल तथा रेफ्रीहरुले खेलाउनु क्लबका अध्यक्ष लोकेन्द्र बहादुर भण्डारीले जनाएका छन् । खेल मैदानमा तयार पारिएको कोर्टमा म्याटको व्यवस्था गरिएको छ भने चारैतिर करिब ३ हजार दर्शक एकै पटक बसेर खेल हेर्न मिल्ने गरी अस्थायी प्याराफिट बनाइएको छ ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन र मुख्य प्रायोजन, नेपाल भलिबल संघको संयोजन, रहेको यो प्रतियोगिताले यस क्षेत्रमा भलिबल प्रेमीलाई उत्साहित बनाएको खेलकुद पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारी बताउँछन् ।

प्रतियोगिता आयोजना स्थल तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित क्लबको भलिबल खेल मैदानमा करिब ३ हजार दर्शक अट्ने अस्थायी प्याराफिट तथा कोर्ट निर्माण गरिएको छ । मैदानलाई आकर्षक रूपमा सजाउनुका साथै सुरक्षाको प्रबन्धका लागि आवश्यक सबै काम भएको क्लबले जनाएको छ ।

बुटवलमा करिब १६ वर्षपछि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुन लागेको हुँदा भलिबल खेलप्रेमीहरुले प्रतीक्षा गरेको क्लबका अध्यक्ष लोकेन्द्रबहादुर भण्डारी बताउँछन् ।

प्रतियोगितामा नेपालका विभागीय टीम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबसहित कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश भलिबल संघसहित १० टीमले भाग लिएका छन् । लिग कम नकआउटका आधारमा खेलाइने खेलमा २४ वटा म्याच हुनेछ ।

प्रतियोगितामा नेपालको राष्ट्रिय भलिबल टिमका सदस्यहरू, खेलाडीहरू विभिन्न टीमबाट सहभागी हुन आउने भएकाले यसको महत्त्व बढेको खेलकुद पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारी बताउँछन् । पछिल्लो समयमा खेलमा लगानी भएअनुसार प्रतिफल नदेखिएको गुनासो गर्दै लामो अन्तरालमा भलिबलको राष्ट्रिय प्रतियोगिता हुन लागेकोमा खुशी व्यक्त गर्दै त्यसलाई सफल बनाउनु सबैको कर्तव्य रहेको उनको भनाइ छ ।

बुटवलमा २०६४ सालमा नेपाल भलिबल संघको आयोजनामा रुपन्देही भलिबल संघले २६ औँ राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरेको थियो । त्यसै गरी २०७२ मा १९ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना भएको थियो । त्यसपछि बुटवलमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुन सकेको थिएन ।

लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष योग गुरुङले रुपन्देहीमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुन लागेकोमा निकै खुशी लागेको बताउँदै त्यसलाई सफल बनाउन लागि पर्ने प्रतिबद्धता जनाए । गुरुङले खेल प्रतियोगिता आयोजना गर्नु सजिलो काम नभएको तर प्रदेश खेलकुद परिषदको सहयोग र क्लबको सक्रियताले आयोजनामा कुनै कमी नहुने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको खेल संयोजक सुरेन्द्र गुरुङले सीमित श्रोत र साधनवीच प्रतियोगिताको आयोजना गर्ने लक्ष्य बनाएर अगाडि बढेकोमा सहयोगी हातहरू धेरै पाएको बताए । गुरुङले जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिताहरू आयोजना गरेको अनुभव भएका कारण तयारीका क्रममा आएका समस्यालाई समाधान गर्नसक्ने जनाए ।

रुपन्देहीमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुन लागेको हुँदा त्यसलाई सफल पार्नु आयोजक क्लबको लागि चुनौती र अवसर दुवै रहेको प्रतियोगिताको मुख्य प्रायोजक एवं प्रवर्द्धक प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई बताउँछन् ।

भट्टराईले प्रतियोगितालाई सबै मिलेर सफल बनाउनुपर्ने बताउँदै परिषद् आफै मुख्य प्रायोजक भएका कारण सबै प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको जनाए । भट्टराईले दशकपछि आयोजना हुन लागेको प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सबैको जिम्मेवारी हुने बताए । ससाना त्रुटिलाई समेत केलाएर सफल बनाउनुपर्ने उनले बताए ।

पहिलो खेलमा नेपाली पुलिस र सुदूरपश्चिम भिड्ने

प्रतियोगिताको पहिलो खेल नेपाली पुलिस क्लब र सुदूरपश्चिमबीच हुने भएको छ ।

बिहीबार भएको टेक्निकल मिटिङमा रेफ्रि कमिस्नर पूर्णप्रसाद चौलागाईले गोलाप्रथाबाट पोल विभाजन गरी टाइसिट प्रकाशित गरेका छन् । शुक्रवार दोस्रो खेलमा आयोजक लुम्बिनी प्रदेशले एपिएफसँग प्रतिस्पर्धा गर्नेछ ।

उनले लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १० टीमलाई दुई वटा पोलहरू राखिएको बताए ।

सुर्खेतमा सम्पन्न ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताअनुसार क्रमशः विजेता पुलिस विजेता, उपविजेता एपीएफ क्लब, तेस्रो गण्डकी प्रदेश र चौथो भएको नेपाल आर्मी क्लबलाई पोल विभाजन गरिएको उनले बताए ।

जसअनुसार पोल ए मा पुलिस, नेपाल आर्मी, मधेस प्रदेश प्रदेश, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा पोल बि गण्डकी र एपीएफ, लुम्बिनी, कर्णाली, बाग्मती प्रदेश रहेका छन् ।

२६,माघ.२०८०,शुक्रबार १०:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्