शिक्षा राज्यमन्त्रीको दाबी : त्रिविको उपकुलपति छनोट नियमसंगत छ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट नियम संगत भएको बताएकी छिन् ।

उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । उक्त सर्च कमिटीले दरखास्त माग गर्दा ४३ जनाले आवेदन दिएकामा त्यसबाट १४ जनाको सर्टलिस्ट सार्वजनिक गरिएको छ ।

सर्टलिस्टमा परेका १४ जनामध्ये केही व्यक्तिको नाममा प्रश्न उठेपछि संसदको शिक्षा समितिले सोमबार शिक्षामन्त्री राईलाई बोलाएको थियो । तर समितिमा शिक्षामन्त्रीको सट्टा शिक्षा राज्यमन्त्री प्रमिला कुमारी उपस्थित भएकी थिइन् ।

उनले कसैका विरुद्ध सिफारिस समितिमा उजुरी नपरेको बताइन् । पूर्वउपकुलपति तीर्थ खनियाँलाई बौद्धिक चोरीको आरोप लागेको छ तर उनी सर्ट लिस्टमा परेका छन् ।

शिक्षा राज्यमन्त्री प्रमिलाकुमारीले उनीविरुद्ध उजुरी नपरेको बताइन् । ‘पूर्वपदाधिकारी हुनुहुन्छ। बुद्धिक चोरीको आरोप लाग्यो तर उहाँको सम्बन्धमा उजुरी परेन’, उनले भनिन् ।

हाल त्रिवि उपकुलपतिको जिम्मेवारीमा रहेका शिवलाल भुसालमाथि पनि सूचना लुकाएको आरोप छ । तर उनको विषयमा पनि उजुरी नपरेको मन्त्री कुमारीले बताइन् । ‘जो निमित्त भिसी हुनुहुन्छ । सर्ट लिस्ट्मा पर्नुभएको छ, उहाँको विषयमा पनि उजुरी परेको छैन । सिफारिस समितिले प्रोसेस अगाडि बढाएको छ । कानुन संगत छ’, उनले भनिन् ।

शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले सिफारिस समितिले मेरिटको आधारमा कुलपति छनोट गर्ने बताए ।

२९,माघ.२०८०,सोमबार १३:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्