काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई राहत सामग्री लिएर पुगेको चिनियाँ टोलीका प्रमुखमाथि हातपात गरेको आरोप लागेका वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीलाई माओवादीले सार्वजनिक खण्डन गर्न निर्देशन दिएको छ ।
गत शुक्रबार र शनिबार बसेको पार्टीको स्थायी समिति बैठकले वैकल्पिक केन्द्रीय सदस्य केसीलाई स्पष्टीकरणको जवाफ सन्तोषजनक नरहेको भन्दै सार्वजनिक खण्डन गर्न निर्देशन दिएको हो ।
‘वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीको उपस्थितिमा गत मंसिर २० गते जाजरकोटको रिम्नामा भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गर्न पुग्नु भएका चिनियाँ स्वयंसेवी महिलामाथि भएको कुटपिटको सन्दर्भमा लिइएको स्पष्टीकरण सन्तोषजनक देखिएन’, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको आन्तरिक सर्कुलरमा उल्लेख गरिएको छ, ‘कुटपिट हुनुमा केसीको भूमिका उत्प्रेरित देखिएको, तर उहाँले त्यसबारे आत्मालोचना नगर्नु भएको र उल्टो पार्टीका जिम्मेवार कमरेडरूका विरुद्ध झुटो आरोप लगाई सार्वजनिक प्रचारमा लागेको समेत देखिएकाले उहाँलाई गम्भीर चेतावनी दिने र झुटा आरोपहरूको सार्वजनिक खण्डन गर्नका लागि उहाँलाई निर्देशन दिने निर्णय गरियो ।’
कर्णालीमा गएको भूकम्पका प्रभावितलाई राहत सामग्री लिएर पुगेकी चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’की मुख्य निर्देशक सोउ सिच्याङमाथि २० मंसिरमा जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा हातपात भएको थियो ।
त्यसपछि माओवादी केन्द्रको २८ पुसमा बसेको पार्टी स्थायी समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । केसीले त्यसपछि ५ माघमा त्यसको जवाफ लेख्दै पार्टी महासचिव देव गुरुङ र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले आर्थिक हिनाहिना गरेको आरोप लगाएका थिए ।
उक्त स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै माओवादी केन्द्रको २६ र २७ माघमा बसेको बैठकले सार्वजनिक खण्डन गर्न निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्