दुर्गा प्रसाईंको महाअभियानले मनायो पहिलो वार्षिकोत्सव, भृकुटीमण्डपमा सभा आयोजना

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ले पहिलो वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा महाअभियानले आज काठमाडौंको भृकुटीमण्डपमा सभा आयोजना गरेको छ ।

सभामा सहभागीहरु र्‍यालीसहित भृकुटीमण्डपमा पुगेर भेला भएका थिए । उनीहरुले राष्ट्रिय झण्डा बोकेका थिए । र्‍यालीमा सहभागी केही महिलाहरुले ठूला झोला र बोरा बोकेका थिए ।

दुर्गा प्रसाईं भने सेतो कारमा चढेर र्‍यालीमा सहभागीहरुलाई हात हल्लाइरहेका थिए । उनले मञ्चमा परेवा उडाएर र बत्ती बालेर कार्यक्रम उदघाटन गरेका थिए ।

यसअघि दुर्गा प्रसाईंले राजतन्त्र फर्काउने, हिन्दु राज्य पुनर्स्थापना गर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । त्यतिबेला उनले बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा गर्नुपर्ने मागलाई पनि प्रमुखताका साथ उठाएर मानिसहरुलाई भेला पारेका थिए । प्रदर्शनको पहिलो दिन नै बल्खु क्षेत्रमा प्रहरीसँग झडप हुँदा स्थिति तनावग्रस्त भएको थियो । सोही दिनदेखि उनको आन्दोलन मत्थर भएको थियो ।

१,फाल्गुन.२०८०,मंगलवार १५:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्