मेलम्चीको खानेपानी वितरणका लागि थप वितरण संजाल हस्तान्तरण

काठमाडौं । काठमाडौं उपत्यका भित्र मेलम्चीको पानी वितरणको लागि नयाँ पाइपलाईन गर्दै आएको आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण संजालको अन्तिम परीक्षणलाई तीब्रता दिँदै विगत सात महिनाको अवधिमा दोस्रो पटक थप १० वटा वितरण संजालको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ ।

मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा आए लगत्तै नयाँ खानेपानी वितरण संजालको परीक्षणलाई तीब्रता दिएका कारण दोस्रो पटक थप क्षेत्रका वितरण संजालहरूको स्वामित्व हस्तान्तरण गर्न सफलता मिलेको आयोजनाले आज एक विज्ञप्ती जारी गर्दै उक्त कुरा उल्लेख गरेको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानका १० वटा वितरण संजालको करिव २ अर्ब ७ करोड मूल्य बराबरका २७८ कि.मि. खानेपानी वितरण प्रणालीको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई आज हस्तान्तरण गरिएको पनि उक्त विज्ञप्तीमा जनाइएको छ ।

आयोजनाद्धारा जारी विज्ञप्ती भनिएको छ, “यसअघि, गत असारमा बोर्डलाई हस्तान्तरण गरिएका करिव रू. ४० करोड १४ लाख मूल्य बराबरका ७५ कि.मि. खानेपानी वितरण संजालबाट नियमित रूपमा मेलम्चीको पानी वितरण हुँदै आएको छ । हालसम्म हस्तान्तरण गरिएका जम्मा १४ वटा वितरण संजालका कूल ३५० कि.मि. खानेपानी वितरण प्रणालीबाट जम्मा २३,००० घरमा मिटर जडान भई मेलम्चीको पानी वितरण हुँदै आएको छ ।
काठमाडौं उपत्यकामा विच्छ्याइएका कूल १ हजार १० कि.मि. वितरण संजालमध्ये हस्तारण हुन बाँकी रहेको करिव ६६० कि.मि. वितरण संजालको अन्तिम परीक्षण गर्ने कार्य तदारूकताका साथ हुँदै आएको छ । ती वितरण संजालहरूको पनि क्रमिकरूपमा परीक्षण सम्पन्न गरी हस्तान्तरण गर्ने कार्य आगामी असारसम्म गर्ने गरी कार्ययोजनाका साथ कार्य भइरहेको आयोजना निर्देशक राजेन्द्र सापकोटाले जानकारी दिएका छन ।”

यसैगरी, “आयोजनाबाट निर्माण सम्पन्न भई २०७९ साल माघमा बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका कूल रू. ९ अर्ब ६२ करोड मूल्य बराबरका थोक वितरण प्रणाली र पानी ट्याङ्कीहरू हाल संचालनमा रहेका छन् । नयाँ वितरण प्रणालीबाट मेलम्चीको खानेपानी वितरण गर्दा उपभोक्ताका घरघरमा समानुपातिक रूपमा खानेपानी वितरण हुँदै आएको छ भने चुहावटको समस्या समेत नहुने अपेक्षा गरिएको छ ।”

खानेपानी मन्त्री महिन्द्र राय यादव प्रमुख अतिथि, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य विशेष अतिथि र खानेपानी मन्त्रालयका सहसचिवहरू अतिथिका रूपमा सहभागी भएको काठमाडौंमा आयोजित एक समारोहमा थप क्षेत्रका वितरण संजालहरूको स्वामित्व हस्तान्तरण गरिएको पनि आयोजनाले बताएको छ ।

सो अवसरमा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीव विक्रम राणालाई थप खानेपानी वितरण संजालको स्वामित्व हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा आयोजनाबाट स्वामित्व प्राप्त भएका १० वटा वितरण संजालको संचालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संञ्जीव विक्रम राणाले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गरेका थिए ।

१,फाल्गुन.२०८०,मंगलवार २१:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्