आत्महत्या कायरताको सूचक हैन !!

आत्महत्या सम्बन्धी समाचारहरु मलाई खासै पढ्न, हेर्न , सुन्न मन लाग्दैन। भलै पेशागत संलग्नताका कारण मानसिक रोग बारे दिनहु केही न केही छलफलमा भने रहन्छु। आफ्नो नजिकका केही प्रियजनहरु मानसिक समस्यासँग संघर्षरत छन। उनिहरुको संघर्ष अनी सफलतालाई मैले नजिकबाट आत्मसाथ गरेको छु र त्यसले म मा प्राण भर्छ। त्यसैले पनि होला मानसिक रोग सम्बन्धी गरिएका हल्का टिप्पणीले मलाई छुन्छ।

टाउको दुख्ने, क्यान्सर रोग लाग्ने वा यस्तै रोग जस्तै शरीरमा केमिकल इम्ब्यालेन्सका कारण मानसिक रोग लाग्छ। हो, केमिकल इम्ब्यालेन्सलाई मिलाउन भने सकिन्थ्यो। यती बेला कोही एक जनाले आत्महत्या गर्न अगाडि लेखेको स्टाटस कै भरमा हामी वकिल बनिरहेका छौ। उनी सामाजिक मान्छे रहेछन् , रक्तदान जस्तो पवित्र कार्यमा संलग्न रहेछन। उनको पोस्टलाई आधार मान्ने हो भने वचन रुपी बाण सहन गार्हो भएको रहेछ भन्ने बुझिन्छ। उनी प्रतिनिधि पात्र मात्र हुन। उनको आत्महत्यामा उनी दोषी छैनन्, दोषी हामी छौ। हाम्रो सामाजिक मानसिकता छ। हामीले आफ्नो बिचार राख्दै गर्दा उनका घर परिवारमा के गुज्रेको होला ध्यान दिएकै छैनौ।

जहिलेसम्म हामी मान्छेलाई मान्छेको रुपमा नहेरी उसको शैक्षिक प्रमाण पत्र, धन-सम्पत्ति, मान-प्रतिष्ठा जस्ता क्षणिक बस्तुहरुको स्तुती गर्छौ तबसम्म हाम्रो समाजमा यस्ता मैनालिहरुको संख्या बढ्ने नै हो। उनिलाई जती बेला मानसिक समस्याले गाज्दै थियो त्यतीबेला स्वतस्फुर्त रुपले त्यो कुरा भन्न सक्ने सामाजिक वा पारिवारिक बातावरण भएको भए यो दिन आउने नै थिएन। सामाजिक रुपमा गरिएका वाद-विवादले प्रस्ट छ, हामी मानसिक समस्यालाई फिटिक्कै बुझ्दैनौ।

के मानासिक समस्याको निराकरण सम्भव छैन त ? छ र समाधानको एक मात्र उपाय आध्यात्म हो। आध्यात्मले मानिसलाई सदभाव, सहभाव र समभावमा बाँच्न सिकाउछ। जीवनको लक्ष्य र उपादेयता नबुझेर दिशाबिहिन भई अल्मलिरहेका मानिसलाई चेतना, बिबेक र बुद्दिको आलोकद्वारा जीवन जिउने कला सिकाउछ। हामी पुरुष बलियो हुन पर्छ भन्छौ, नारिलाई सहनशिल हुनपर्छ भन्छौ। पैसाले इज्जत किन्न पर्ने जमानामा छौ।

आज भोली सोसल मिडियाका कारण मानिसहरुको रहन-सहन, जीवनशैली मात्रै हैन जीवनपद्दतिमै फरक परेको छ। फोनले निर्देशीत गरिरहेको जीवन बाच्ने तरिका। एउटाले राम्रो गाडी चड्यो, ठुलो घर बनायो, घुम्न गयो अर्कालाई पनि त्यही चाहियो। सके आफुले तेस्तै गर्‍यो नभय चिन्ता, रिस , जलन अनी पिडाले कुन्ठित भयो, अनी मानशिक रोग निम्त्यायो। मान्छे आफ्नो जीवन बुझ्दैन, जीवनशैलीको पछी लाग्छ। समुन्द्रको छेउमा उभिएर फोटो खिच्दै गर्दा समुन्द्रमा आउने छालको बहाब बुझ्ने कोशीश नै गर्दैन। जीवन बुझ्नको लागि मात्र जीवन भए पुग्छ, जो हामी प्रत्येकसँग छ। जीवनलाई फरक ढ्ङ्ले नभुझी खाली पैसा, मान सम्मान, आदिको पछाडि लाग्दा लाग्दै जीवनबाटै पछाडि धकालियको धेरैलाई पत्तै हुन्न।

सम्बन्धहरु पनि कृतिम देखिन्छन। सम्बन्धको लागि माया ममता , करुणा , उत्तरदाइत्व, जिम्मेबारी रोप्न पर्ने ठाउमा स्वार्थ, रिस अनी जलन रोपेका छौ तर सम्बन्ध भने प्रेमिल खोज्दछौ। खोजेको कुरा नपाउदा एक किसिमको खिन्नता, रिक्तता र अभाब महसुस मानिसले गर्दछ। बिउ नै गलत रोपियो कि भन्ने तिर ध्यान नदिएर एक-अर्कामा आरोप प्रत्यारोप सुरु हुन थाल्छ अनी स्वर्ग भनिएको घर युद्द मैदानमा परिणत हुन्छ। यसले परिवार, बाल-बच्चाहरुलाई त असर गर्छ नै आत्महत्याको निर्णयसम्म पनि मानिस् पुग्दछ।

जीवनको लक्ष र उपादेयता नबुझेर दिशाबिहिन भइ अलमलिएकालाहरुलाई चेतना, बिबेक र बुद्दिको संयोजनद्वारा जीवन जिउने सहि कला सिकाउने आध्यत्म हो। तर आध्यात्मलाई धेरैले आत्मसाथ गरेको भेटिदैन। अझ यस्ता कुरा अली उमेर ढल्के पछी ध्यान दिने हो भन्ने धेरै मानिसको बुझाई छ। जसरी जग बिना घर बन्दैन त्यसरी नै जीवनको सच्चाइ नबुझिकन जीवन सफल हुने कुरै भएन।

हामीलाई कुनै पनि खालको शिक्षा वा ज्ञान चाहियो भने सुचनामुलक शिक्षा सजिलै उपलब्ध हुन्छ तर आध्यात्मिक ज्ञान लिने ठाउँ छैन वा ध्यान दिएको देखिदैन।

र अन्तमा कारण जे सुकै होस्, एक जनाको ज्यान अनाहकमा मै गयो। कोही पनि सामाजिक परिबन्धमा परेर जीवन कै अन्त गर्नु पर्ने स्थितिको श्रीजना नहोस्। त्यसको लागि हामी हाम्रो सोचाइ अनी मानसिकतामा ब्यापक परिवर्तन ल्याउन पर्ने हुन्छ। सर्टिफिकेट्का भारी बोकेका तर बिबेकसुन्यहरु , धनी पनि यती धनी जो सँग धन बाहेक केही छैन । वा जीवनशैलिको पछाडि लाग्ने तर जीवनमा जिबन्तता नभएका अनी मानविय मुल्य र मान्यतामा चुकेकाहरुलाई हामीले वाही-वाही गर्न छोडेर गरीब नै किन नहोश सत्यको बाटो अंगालेकालाई सम्मान गर्न सिकौं, समाज आँफै परिष्कृत हुन्छ जीवन सुन्दर हुन्छ।
सरस्वती पूजा अनी ‘भ्यालेन्टाइन डे’ को हजुरहरुलाई धेरै धेरै शुभकामना।

२,फाल्गुन.२०८०,बुधबार ०९:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्