श्रीमती छुटाएको आरोपमा केराबारीमा एक व्यक्तिले माइजू र बहिनीमाथि खुकुरी प्रहार गरी बनाए घाइते

विराटनगर । मोरङको केराबारीमा एक व्यक्तिले माइजू र बहिनीलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । लेटाङ नगरपालिका-१ का अन्दाजी ५२ वर्षीय नीरकुमार राईले माइजू र बहिनीलाई खुकुरी हानेका हुन् ।

राईले केराबारी गाउँपालिका-९ भलुवाईकी अन्दाजी ५० वर्षीया जमुनादेवी राई र जमुनादेवीकी छोरी २५ वर्षीया रेणुका राईलाई घाइते बनाएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।

उनका अनुसार पेस्तोल र खुकुरी बोकेर घरमै पुगेका नीरकुमारले जमुनादेवी तथा रेणुकालाई बिहान साढे ९ बजेतिर खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट जमुनादेवी र रेणुकाको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

नीरकुमार जमुनादेवीका भान्जा हुन् । उनको साथबाट अटोमेटिक पेस्तोल र म्याग्जिनसहित ४ राउण्ड गोली बरामद भएको छ । साथै, ‘मेड इन चाइना’ लेखेको नक्कली पेस्तोलसमेत फेला परेको छ ।

केही समयअघि नीरकुमारसँग उनकी श्रीमतीले सम्बन्ध विच्छेद गरेकी थिइन् । सम्बन्ध विच्छेद गरेर श्रीमतीले दोस्रो बिहे गरेको खुलेको छ । नीरकुमारले आफूबाट श्रीमतीलाई अलग बनाएको माइजूमाथि आरोप लगाउने गरेको प्रहरी स्रोातले बतायो ।

३,फाल्गुन.२०८०,बिहीबार १४:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्