कल्याण गुरुङको प्रस्ताव: सभापतिसहित पार्टी पदाधिकारी प्रधानमन्त्री-मन्त्री बन्न नपाउने व्यवस्था गरौं

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ १५ औं महाधिवेशनबाट लागू हुने गरी सभापतिससहित सबै पदाधिकारी राज्यको कुनै पनि कार्यकारी पदमा जान नपाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा बैठकमा पेस भएका प्रस्तावमाथि धारणा राख्दै उनले भने, ‘१५ औं महाधिवेशनबाट लागू हुने गरी नेपाली कांग्रेस पार्टीका सबै तहका सभापति र पदाधिकारीहरू प्रधानमन्त्री, उप प्रधानमन्त्री, मन्त्रीहरू र राज्यको कुनै पनि कार्यकारी पदमा जान नपाउने वैधानिक व्यवस्था गरौं ।’

आदिवासी जनजाति, दलित, मधेसी, खस आर्य, महिला, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक-एक जना उपसभापति र एक एक जना महामन्त्री हुने गरी ८ जना उपसभापति र ८ जना महामन्त्री हुनुपर्ने उनले बताए ।

उनले भने, ‘समानुपातिक निर्वाचन प्रणालीबाट सांसद र राष्ट्रियसभा सदस्य पदमा एक व्यक्ति एक पटकमात्र हुने व्यवस्था हुनु पर्दछ । मेयर, उप-मेयर, सांसद, मन्त्री, उप-प्रधानमन्त्री र प्रधानमन्त्री भएका व्यक्तिहरूले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद र राष्ट्रियसभा सदस्य हुन नपाउने वैधानिक व्यवस्था गर्नु पर्दछ ।’

केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश महाधिवेशनमा उम्मेदवार हुने र भोट हाल्ने विधान भएको व्यवस्थालाई हटाउनुपर्ने भन्दै एक व्यक्ति, एउटा महाधिवेशनको मात्र प्रतिनिधि हुने वैधानिक प्रावधान गर्न माग गरेका छन् ।

४,फाल्गुन.२०८०,शुक्रबार १३:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्