नेपाली कांग्रेस महासमितिमा पेश हुने प्रस्तावमा गठबन्धनको छाया देखियो: शेखर कोइराला

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी महासमिति बैठकमा पेश गरिने प्रस्तावमा गठबन्धनको छाया देखिएको बताएका छन्।

शुक्रबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा तीन प्रस्तावमाथि १६ बुँदे धारणा राख्दै कोइरालाले पार्टीका प्रस्ताव मौलिक हुनुपर्नेमा गठबन्धनको छाया देखिएको बताएका हुन्।

‘यहाँ प्रस्तुत हुने प्रतिवेदन र दस्तावेजहरू हेर्दा कताकता गठबन्धनको छाया परेको हो कि जस्तो देखियो,’ कोइरालाले भने, ‘महासमिति बैठकमा प्रस्तुत हुने प्रस्ताव कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो, त्यो देखिएन।’

उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव तयार पारेका हुन्। खड्का अहिलेको गठबन्धन सरकारमा उपप्रधान तथा रक्षामन्त्री छन्।

यस्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले क्रमश: सांगठानिक र समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन्। शर्माले पेश गरेको प्रस्तावमा कोशीमा सरकार बनाउँदाको असर गत माघ ११ को राष्ट्रिय सभा चुनावमा देखिएको उल्लेख छ।

कोशीमा कोइरालानिकट केदार कार्की कांग्रेसका ८ सांसद र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। पछि मुख्यमन्त्री कार्कीलाई गठबन्धनले नै विश्वासको मत दिएको थियो भने एमाले कोशी सरकारबाट बाहिरिएको थियो।

राष्ट्रिय सभा चुनावमा कोशीमा गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्की पराजित भएकी थिइन्।

४,फाल्गुन.२०८०,शुक्रबार १५:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्