अब रूखमा मात्रै भोट हाल्न पाइने महामन्त्रीको सांगठनिक प्रस्तावले उत्साह थपेको छ: गोविन्दराज पोखरेल

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले अबदेखि चुनावमा गठबन्धन नगर्ने महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावले पार्टीमा उत्साह ल्याएको बताएका छन्।

फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकका लागि महामन्त्री थापाले ल्याएको सांगठनिक प्रस्तावमा गठबन्धन गर्दा लोकप्रिय मत ७ प्रतिशत घटेकोले अबदेखि रूखमा मात्रै मत हाल्न पाइने उल्लेख गरेका थिए।

उक्त प्रस्तावमाथि शुक्रबार सानेपामा धारणा राख्दै पोखरेलले भने, ‘नेपाली कांग्रेसका साथीहरूलाई अब आउने निर्वाचनमा रूखमा मात्र मत दिनुपर्ने अवस्था हुनेछ भन्ने महामन्त्रीज्यूको प्रस्तावले आम कांग्रेसजनमा उत्साह थपेको छ।’

विधान संशोधन र १५ औं महाधिवेशनका विषय महामन्त्री थापाले प्रस्तावमा समेटेको र उक्त विषय सान्दर्भिक रहेको उनले बताए।

उनले वडा, पालिकादेखि माथिसम्मका संरचना भद्दा भएको र बैठक बस्न कोरम नै नपुग्ने अवस्था देखिएकोले संशोधन गर्न जरूरी रहेको बताएका छन्।

उनले संघीय, प्रदेश र स्थानीय सरकारका कामकारबाहीको अनुगमन गर्ने र समस्या समाधानमा सहजीकरण गर्ने योजना ल्याउनुपर्ने, पूँजीगत खर्च गर्ने क्षेत्रमा अझै सुधार हुनुपर्ने पनि बताए।

उनले ऋण तथा बचत सरकारीको सुशासनको अवस्था नाजुक रहेको र यस क्षेत्रको समस्याले सर्वसाधारहरूको लगानी तथा बचत डुब्ने अवस्था रहेको उल्लेख गरेका छन्।

उनले धर्म परिवर्तन गरिने कामलाई सरकारले संविधानले दिएको अधिकार प्रयोग गरी कडारुपले रोक्नुपर्ने बताए। संविधानमा परिवर्तन गरेर सासंद, मन्त्री र नेताभन्दा उद्यमी धेरै बनाउने बाटोमा जानुपर्ने उनले बताए।

पोखरेलले पार्टीका जिल्ला सभापतिलाई पदेन महासमिति सदस्य बनाउन पनि माग गरेका छन्। उनले २९ वटा निर्वाचन क्षेत्रबाट र केही शुभेच्छुक संघसंस्थाबाट महासमितिमा प्रतिनिधित्व नहुने देखिएको पनि बताए।

४,फाल्गुन.२०८०,शुक्रबार १७:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्