के हजुर पनि यो थेरापी गर्नु हुन्छ ?

सधैं झै गत शनिवार पनि केही भेटघाट तय भएको थियो। भर्खर ३ जना साना छोराछोरीलाई लिएर उहा नयाँ जिन्दगी जिउने तरिका सिक्न अघी बढ्दै हुनुहुन्छ। चुनौतिका पहाड त हुने नै भए। उस्ले जाने बेलामा मलाई गल्ती किन देखाको होला? यसरी आफु बच्ने अर्कालाई दोष लगाएर ‘भिक्टिम कार्ड’ किन फ्याक्ने होला?

वहाँ गुनासो अनी चित्त दुखाइ पनि। चित्त दुखाइ सङ्गै वहाँले केही कुरा शेयर गर्नु भयो। मैले सोधें, यो वहाँप्रतिको अपेक्षा हैन र? भनेको एकै छिन रोकिनु भयो। खैर यो कुरा धेरै लम्ब्याइन। भन्नु भयो, दु:ख पर्दा थाहा हुने रहेछ, को आफ्नो को अर्को। मैले थपे हामीले कोसँग संगत गर्छौ त्यसले धेरै कुराको निर्धारण गर्छ, बिशेष गरी दु:खको समयमा।

साथीभाइसँग कुरा गर्दा शान्ती मिल्छ रे उहालाई। मैले सोधे कुरा गर्ने कि कुरा काट्ने? मलाई दु:ख दिएको, घर छोडेर गएपछी छोराछोरी भेट्न नआएको वहाँको लिस्ट लामो थियो। साथीहरुसँग यि कुराहरु गर्दा मन हलुंगो हुन्छ रे। यो त थेरापी भएको होला हैन हजुरलाई भनेको हो हो ठ्याक्कै त्यहि हो भन्नु भो।

‘टक थेरापी’ ले काम गर्छ तर चेतनशिल मान्छेको संगत छ भने मात्रै | हैन भने त्यो ‘गोसिप सेसन’ हो। आज जो मान्छेसँग हजुर त्यो सेसन चलाऊदै हुनुहुन्छ भोली हजुरको राम्रो हुँदै गयो भने (पक्का पनि आफ्नै बलबुतामा) त्यो मान्छेमा एकखालको अहंकार, रिस, जलन, इर्श्या उत्पन्न हुन्छ र भोली हजुर माथि नै आक्रमण गर्छ। मैले सहयोग गरेको, उस्तै पर्‍यो भने त्यस्लाई मैले छ महिना भात खुवाको, वा यस्ले कसरी होलिडेमा जान सक्छे, ब्रान्डेड लुगा लगाउन सक्छे भन्दै हजुरको खेदो गर्छन् ।

एक छिन आफ्नो अहंकारलाइ साम्य पार्न र कुण्ठा पोख्न साथीलाई धेरै कुरा सेयर गरिहाल्न हुन्न भन्ने मेरो बुझाइ छ। जिन्दगी हजुरको हो र हजुरले नै व्यबस्थापन गर्न पर्छ। हो, सेफ्टी नेटवर्कमा केही मान्छे चाहिन्छन् जसलाई हाम्रा सम्स्या सेयर गर्न सकौ, कुनै गाइडेन्स चाहियो भने सहयोग माग्न सकौ। बुवा-आमा दिदी-बहिनी नातेदार हाम्रो निर्धारित हुन्छ । हामीले आँफै निर्धारण गर्ने चाँही हाम्रो जिन्दगी कसरी जिउने अनी साथीभाइ कस्तो बनाउने नै हो।
‘दिमागमा खाली नकारात्मक कुरा मात्रै आउछ, जस्ले यस्ता कुरा गर्छ त्यस्तै मात्र साथी-भाई बनाउन मन लाग्छ, किनकी उनिहरुसंग मेरो कुरा मिल्छ रे’। मैले भने कुरा मिलेको हैन हजुर भड्खाला तिर जाने लक्षण हो। दिमागलाई जता ध्यान दियो त्यतै जान्छ। नकारात्मक कुरा तिर ध्यान दिने हुनाले हजुरको ध्यान त्यतै गएको हो। दु:ख पर्दा आफ्नो कुरा कस्लाई सुनाउ जस्तो पक्का हुन्छ। तर बुझ्न् पर्ने के हो भने मानिसहरु आफु भित्रको महाभयन्कर युद्दमा छ। कसैको भने जस्तो करिएर छैन, कसैको भने जती सम्पत्ति छैन, कसैको छोराछोरी आफुले भने जस्ता छैनन् यस्तै यस्तै कुरामा मान्छे आँफै भित्रको युद्दमा छ । र यो जित्नलाई आफुलाइ सुधार्न पर्ने हुन्छ। तर मान्छे आफुलाई सुधार्न भन्दा अरुमा खोट देखाएर बस्न रमाउछ। यस्तोलाई ‘मनोरोग’ भनिन्छ र यस्ता मनरोगीहरु जताततै छन।

मलाई त भगवानले पनि वास्ता नगरे जस्तो लाग्छ रे। मैले भने जब हजुर भगवान दु:ख पर्दा केही माग्न जानु हुन्छ भने हजुरलाई हेर्नु पर्ने जरुरी छैन। भगवान दु:ख पर्दा मात्रै जाने ठाउँ हैन। भगवान-भरोसा भनेको जीवनपद्दति हो। इमान्दार, दयाभाव, करुणा, दिन-दुखिको सहयोग जस्ता कुरामा हजुरका प्राथमिकता छन भने हजुर भगवानको प्राथमिकता पक्कै पर्नु हुन्छ।

नकारात्मक सोंचबाट मुक्ति पाउन के गर्न सकिन्छ त ?
कामको प्रकृति मिलाएर बिहान बेलुका जती बेला मिल्छ केही समय हिंड्ने, मौन बस्ने, यसको मतलब मुख चुप लाग्ने हैन मनलाई चुप लगाउने, उड्न नदिने । हिंड्न मिल्दैन भने घरमै केही ब्यायाम वा योगा गर्ने, पानी पिउने, सोसल मिडियामा कम ध्यान दिने र दुखी मान्छेको संगत गर्दै नगर्ने । दिदी दुखीलाई त झन सहयोग गर्न पर्ने हैन र रे। मैले यहाँ दुखी भनेको सबै कुरा हुँदाहुँदै पनि दुखी भएका गोसिपमा रमाउने, आफ्नो वृत्ति बिकासभन्दा अरुको राम्रो भएको देख्दा जल्नेहरुलाई भनेको हो।

कुराको बिट मार्दै गर्दा, ‘बहिनी हजुरलाई नाच्न आउछ दिनको आधा घण्टा नाच्नुस् त त्यही हो हजुरको लागि जप, तप, ध्यान भनेको थिएँ। आज बिहान् नाचेको भिडियो पठाउनु भएको रहेछ। लौ हजुरहरुलाई पनि के मा रुची छ त्यहि गर्नु होला र आजको दिन शुभ बनाउनुहोला!

८,फाल्गुन.२०८०,मंगलवार १०:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्