सामुदायिक विद्यालयको जग्गा भाडा नतिरेपछि रास्वपाका प्रदेश महामन्त्री निलम्बनमा

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कोशी प्रदेश महामन्त्री लालविक्रम थापा कारबाहीमा परेका छन् । उनलाई पार्टीको पेज फेसबुक पेज दुरुपयोग गरेको र सामुदायिक विद्यालयको जग्गाको भाडा नतिरेको भन्दै पार्टीले निलम्बन गरेको छ ।

उनी सुनसरी क्षेत्र नं २ मा गएको प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बनेका थिए । उनले इटहरीको जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भाडामा लिएर पैसा नतिरेको आरोप लगाइएको छ । सो विषयमा पार्टीले उक्त मुद्दालाई किनारा लगाउन सुझाव दिँदा नटेरेको भन्दै पार्टीले कारबाही गरेको हो ।

उनले विद्यालयको २ कट्टा खाली जग्गा भाडामा लिएर सनमुन प्लाजा सञ्चालन गर्दै आएका छन् । प्लाजाबीच भएको सम्झौता अनुसारको भाडा नबुझाएको भन्दै पार्टीले स्पष्टीकरण सोधेको थियो । तर संवाद प्रक्रिया नै बन्द गरी कोशी प्रदेशको सामाजिक सञ्जाल प्रयोग निर्देशिका २०८० भावना र मर्म विपरीत फेसबुक लाइभ गरी अनर्गल प्रस्तुति दिएको पार्टीको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको एक जिम्मेवार व्यक्तिबाट पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गरी केन्द्रीय अनुशासन विभाग च नं ८० मिति २०८०/११/०७ को पत्र अनुसार कोशी प्रदेश समितिको महामन्त्री तथा सदस्य पदबाट अर्को निर्णय नआउन्जेल सम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौ । अर्को व्यवस्थापन नभएसम्मका लागि आजकै मितिबाट निजले गर्दै आएको सङ्गठन सम्बन्धी काम कारबाहीहरू प्रदेश सङ्गठन विभाग सचिवमार्फत हुने जानकारी गराउँदैछौ ।’

थापाले गत प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं २ मा १९ हजार बढी मत ल्याएका थिए । एमालेका भीम आचार्य ३२०२४ मत ल्याएर विजयी भएको निर्वाचनमा कांग्रेसका सीताराम मेहताले २६०६८ मत ल्याएका थिए भने रास्वपाका थापाले १९३९१ मत ल्याएका थिए ।

९,फाल्गुन.२०८०,बुधबार १६:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्