इटहरी जुत्ता चप्पल महोत्सव बन्द गर्न उद्योग वाणिज्य संघको चेतावनी

विराटनगर । आफूहरूसँग समन्वय नगरेको भन्दै उद्योग वाणिज्य सङ्घ इटहरीले जुत्ता चप्पल व्यापार महोत्सव सञ्चालनमा अवरोध गरेको छ । इटहरीमा पहिलो पटक हुन लागेको जुत्ता चप्पल व्यापार महोत्सवले इटहरीको व्यापार खस्कने भन्दै महोत्सव सञ्चालनमा अवरोध गरेको हो ।

महोत्सवले स्थानीय व्यापारीलाई असर पर्ने भन्दै महोत्सव नचलाउन चेतावनी दिएको छ । वाणिज्य सङ्घको चेतावनीका कारण शुक्रवार हुने भनिएको उद्घाटन कार्यक्रममा स्थगित भएको छ ।

इटहरी उप महानगरपालिका, जिल्ला प्रशासन कार्यालयसँग स्वीकृत लिएर महोत्सवको स्टल समेत राखिसकेको अवस्थामा महोत्सव सञ्चालनका विषयमा अन्योल उत्पन्न भएको छ । शनिवार बिहान महोत्सव स्थलमा गएर उद्योग वाणिज्य सङ्घका प्रतिनीधिहरुले महोत्सव बन्द गर्न चेतावनी समेत दिएका छन् ।

‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ फागुन ११ गते देखि चैत २५ गतेसम्म ३५ दिनका लागि महोत्सव सञ्चालनको तयारी भएको छ ।

महोत्सव आयोजक समितिका आयोजक समितिका अध्यक्ष एवंम नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य नानीराज घिमिरेले सबै कानुनी कुरा पुरा गरेकाले महोत्सव सञ्चालन गर्न पाउनु पर्ने बताए ।

उनले प्रतिस्पर्धी बजारमा सामान बेच्न दिन्न भन्नु कानुनको बर्खिलाप भएको बताए । उनले भने, ‘कानुनको पालना गरेर व्यापार गर्न पाइँदैन भन्नु राम्रो कुरा नभएको बताए । करोडौँ रुपैयाँ लगाएर उद्योग सञ्चालन भएका छन् । बजारमा चोरी तस्करीका जुत्ता चप्पल छ्याप छ्यापी छन् । हामीले नेपाली उत्पादन सस्तो मूल्यमा उपभोक्तालाई बेच्न खोजेका हौ उनले भने हामीले महोत्सव लगाउन पाउनुपर्छ ।’

उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले भने इटहरीमा रहेका जुत्ता चप्पल व्यवसायी धराशायी हुने भएकाले महोत्सव सञ्चालन गर्न नदिने बताए । उनले भने, उहाँहरू सस्तो मूल्यमा जुत्ता बेचेर जानु हुन्छ । यहाँका व्यापारी के गरेर बस्छन् ? ‘फ्याक्ट्रीबाट सिधै ल्याएर उहाँहरू बेच्नु हुन्छ । उनीहरूकै फ्याक्ट्रीबाट ल्याएका जुत्ता चप्पल बजारमा छन् । यस्तो अवस्थामा यहाँका व्यापारी पलायन हुनुको विकल्प छैन ।’

आफूहरूसँग समन्वय नै नगरी महोत्सव सञ्चालन गर्न लागेको भन्दै आपति जनाए ।

१२,फाल्गुन.२०८०,शनिबार १२:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्