बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला: पन्ध्र हजार उपभोक्ताले गरे अवलोकन

रुपन्देही । बुटवलमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा यहि फागुनको १० गतेदेखि बुटवल मण्डपमा सञ्चालन गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० सोमबार सकिएको हो ।

प्राङ्गारिक खेती प्रणालीलाई जोड दिएर कृषिको प्रवद्र्धन र कृषिमा व्यवसायिक विकासको लागि सञ्चालन गरिएको कृषि मेलामा १५ हजार उपभोक्ताले अवलोकन गरेको र मेलाभित्र १५ लाखको कारोवार भएको संघका अध्यक्ष एवं मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बताए ।

मेलाको समापन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कृषिको व्यवसायिक विकास गर्न प्रवद्र्धनात्मक मेला आयोजना गरेर बुटवल उद्योग वाणिज्य संघले किसान र उपभोक्तालाई जोड्ने मात्रै नभएर उद्यमशिलता विकास र रोजगारी सिर्जनामा पनि योगदान हुने बताए ।

उनले कृषिभूमिलाई प्लटिङ गर्ने र कृषिमा लाग्नुपर्ने जनशक्ति जग्गाको खरिद विक्रीमा लाग्दा कृषि क्षेत्रको उदोगति भएको बताउँदै यसलाई उठाउन सबै लाग्नुपर्ने सुझाए ।

तिनाउ गाउँपालिकाका पाल्पाका अध्यक्ष प्रेम श्रेष्ठले गाउँका किसानले आफ्नो उत्पादन विचौलियाको मूल्यमा बिक्री गर्न बाध्य भएको बताए । उनले गाउँ विस्तारै बृद्धाश्रम हुने हो की भन्ने चिन्ता रहेको बताउँदै त्यसलाई रोक्नको लागि उद्यमशीलता विकास र रोजगारीको सिर्जना अपरिहार्य रहेको बताउँदै त्यसमा प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने आग्रह गरे ।

उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नको लागि आयोजना गरिएको कृषि मेलाले किसानलाई मात्रै नभएर उपभोक्तालाई पनि लाभ पुग्ने विश्वास व्यक्त गरे ।

८८ वटा स्टल रहेको मेलामा उपभोक्तालाई प्राङ्गारिक कृषि, पशुपन्ंछी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गरिएको छ । प्राङ्गारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धतीको प्रवद्र्धन, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी उपभोक्तालाई जानकारी गराइएको छ ।

मेलामा जिवनाशक विषादि प्रयोग, प्रभाव र विकल्प, प्राङ्गारिक खेतीको लागि हालसम्मको प्रयास र उपलब्धी, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि बस्तुको बजारीकरण सम्बन्धि अन्तरक्रिया तथा छलफल गरिएको छ ।

त्यस्तै कृषिसँग सम्बन्धित विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, दुग्धपान प्रतियोगिता र कृषिसंग सम्बन्धित सांस्कृतिक सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएको संघका कार्यसमिति सदस्य तथा मेला प्रचारप्रसार समितिका संयोजक दीपकप्रसाद चापागाईले बताए ।

मेलामा दाङको प्रेमनिस अल्लो धागो तथा तयारी पोशाक उद्योग उत्कृष्ट भएको छ । मेलामा रहेका ८८ वटा स्टलमध्ये कृषिजन्य कच्चा बस्तुको प्रयोगबाट राम्रो सञ्चालन गरेको प्रेमनिस अल्लो धागो तथा तयारी पोशाक उद्योगलाई प्रथम पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै चितवनको गोर्खाली कृषि औजार पसल द्वितीय र मेघवर्षा कृषि सहकारी संस्था तृतीय भएको छ । मेलामा २ वटा स्टललाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । गुप्ता नर्सरी तिलोत्तमा र सुधा हर्वल रुपन्देहीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको हो ।

१५,फाल्गुन.२०८०,मंगलवार ०८:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्