आत्मा हत्याको प्रयास गरेकि भारती मानन्धर भेरी अस्पताल भर्ना, स्वास्थ्यमा केहि सूधार

नेपालगञ्ज । नेपालगञ्जका गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छन् । मंगलबार दिउसो १ बजेको आसपास भारतीले विष सेवन गरेको बाँके प्रहरीले जनाएको छ ।

अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ । उनले आफ्नो छोरालाई भेट्न नपाएको भन्दै विष सेवन गरेको उनी निकटले सुनाएका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

राष्ट्रपतिबाट आममाफी पाएका रिगललाई लामो समय आन्दोलन गरेर पुनः जेल पठाउन सकेकी भारती पारिवारिक रुपमा समस्यामा पर्दै आएको जनाउँदै आएकी थिइन् । उनले छोरालाई आफैले राख्नुपर्ने चाहना गर्दै आएको भएपनि चेतनका बुबाआमाले भने नातीलाई आफैले राखेका छन् ।

छोरालाई दिउसो खाजा दिन उनी पढ्ने स्कुलमा गएपनि भेट्न नपाएपछि घरमा आएर उनले विष सेवन गरेको जानकारवालाहरुले बताएका छन ।
बाँके प्रहरीका सूचना अधिकारीले प्रहरीले दिउसो ४ बजे सूचना पाएको जनाएको छ । प्रहरीका अनुसार अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको र परिवारका सदस्य पनि साथमा रहेका छन ।

१५,फाल्गुन.२०८०,मंगलवार २०:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्