दशरथ रंगशालाको मैदान खराब हुँदा नेपालको विश्वकप छनोटको खेल अर्कै देशमा हुने

काठमाडौ । काठमाडौ फिफा विश्वकप २०२६ अन्तर्गतको एसिया छनोटमा नेपालले बहराइविरुद्धको आफ्नो होम म्याच समेत अर्को देशमा खेल्नु पर्ने भएको छ।

नेपालले बहराइनविरुद्ध चैत ८ मा घरेलु मैदानमा खेल्ने तय थियो। यो खेलपछि चैत १४ मा नेपालले बहराइनविरुद्ध उसैको मैदानमा खेल्नेछ।

नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको मैदानको अवस्था बिग्रिएपछि नेपालको खेल अर्कै देशमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

दशरथ रंगशालामा यसअघि रग्बी प्रतियोगिता र विभिन्न स्कुलका कार्यक्रम भएका थिए। अहिले केपी ओली कप भइरहेको छ। जसका कारण मैदानको अवस्था खराब भएको छ।

रंगशालाको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषदले हेर्छ।

एन्फाले एसियाली फुटबल महासंघका प्रतिनिधिले मैदानको निरिक्षण गरेको र त्यसमा सन्तुष्ट नभएको जनाएको छ। अब अर्को भेन्यू छिट्टै घोषणा गर्ने एन्फाले जनाएको छ।

‍मैदानको अभावले नेपालले होम म्याच गुमाएको यो पहिलोपटक होइन। सन् २०१९ मा दशरथ रंगशालाको पुनर्निर्माण समयमै नसकिदा नेपालले कुवेतविरुद्धको खेल गुमाएको थियो। सो खेल भुटानमा भएको थियो।

यसपटको छनोटमा समूह ‘एच’ मा रहेको नेपालले यसअघि युएईसँग ४-० र यमनसँग २-० को हार बेहोरेको थियो। युएईसँग अवे र यमनसँग घरेलु मैदानमा खेल भएको थियो।

यसअघि शुक्रबार नै बहराइनविरुद्ध हुने फिफा विश्वकप छनोटको खेलका लागि ३३ खेलाडीलाई प्रारम्भिक टिममा बोलाइएको थियो।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार दुई खेलका लागि टिम घोषणा गरेका हुन्।

नेपाली टिम

गोलकिपरः अभिषेक बराल, विशाल सुनार, दीप कार्की, किरण चेम्जोङ
डिफेन्डरः अजय चौधरी, अनन्त तामाङ, अन्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश गुरुङ

मिडफिल्डरः एरिक विष्ट, विशाल तामाङ, कृतिशरत्न छिन्जु, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज जिउ ठकुरी, उत्सव राई

फरवार्डः अन्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, जिलेस्पेजंग कार्की, हिसुब थपलिया, राजेश परियार, समीर तामाङ, सञ्जीव विष्ट

१८,फाल्गुन.२०८०,शुक्रबार १५:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्