सरकार र मिटरब्याज पीडितबीच गृह मन्त्रालयमा शुक्रबार अपराह्न दुई घन्टा वार्ता

काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच गृह मन्त्रालयमा शुक्रबार अपराह्न दुई घन्टा वार्ता भएको छ ।

मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख नारायणप्रसाद भट्टराई नेतृत्वको सरकारी टोली र पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहको टोलीबीच ‘सकरात्मक संवाद’ भएको संवादमा सहभागी एक अधिकारीले बताए ।मन्त्रालयले यसअघि पीडितसँग वार्तासँग सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा समिति बनाएको थियो । योबीचमा स्वास्थ्यका कारणले वार्ता टोलीको संयोजक फेरिएपछि भएको वार्तामा आफूहरुको मागबारे बुँदागत रुपमा छलफल भएको संघर्ष समितिका प्रवक्ता नीर्घ नविनले बताए ।

उनका अनुसार, पीडितको समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने, अहिले भएको कानुनमा देखिएका जटिलता लगायतका विषयमा छलफलपछि सरकारी पक्षको जवाफसमेत सुनेर संवाद टुंगिएको थियो । दुवै पक्षका वार्ता टोली संयोजकबीच छलफल गरेर भोलि (शनिबार) फेरि संवाद हुने नविनले बताए ।मन्त्रालयले आइतबार मिटरब्याज पीडितसँग पहिलो चरणको वार्ता गरेको थियो । तर, भोलिपल्ट ११ बजे बस्ने गरी टोली उठे पनि प्रशासनले पीडितलाई भृकुटीमण्डपबाट हटाउन खोजेपछि वार्ता विथोलिएको थियो ।

मंगलबार पुनः वार्ताका लागि टोली बसे पनि विनानिष्कर्ष टुंगिएको थियो । योबीचमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत आन्दोलनरत् मिटरब्याज पीडितबारे चासो राखेका थिए ।

उनले सरोकारवाला मन्त्रालयका सचिवहरुलाई बोलाएर ब्रिफिङ लिएको एक अधिकारीले बताए । नवीन भन्छन्, ‘अहिले आन्दोलन र वार्तालाई सँगै लाने भन्नेछ, आजको संवाद हेर्दा चाँडै निकास निस्किएला भन्ने लाग्छ ।’

मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहाको नेतृत्वमा ५०० र पश्चिमबाट नीर्घ नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो ।

१८,फाल्गुन.२०८०,शुक्रबार २०:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्