सिरोहियालाई ३ दिन थप हिरासतमा राख्न अदालतको अनुमति

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा प्रहरीले पुनः ३ दिनको म्याद पाएको छ ।

धनुषा जिल्ला अदालतले आज दोस्रो पटक ३ दिनको म्याद थपेको हो । जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश भएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

इजलासमा सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितका सात जना वकिलले बहस गर्दै मुद्दामा सहयोग गर्नेगरी सिरोहियालाई साधारण तारिकमा छाड्न अपिल गरेका थिए ।

काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाटै मंगलवार पक्राउ परेका सिरोहियामाथि नागरिकता किर्ते सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पहिलो पटक तीन दिनको म्याद दिएको थियो ।

११,जेष्ठ.२०८१,शुक्रबार १८:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्