कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरायलसँग चेम्बरको सहकार्य

काठमाडौं ।नेपाल चेम्बर अफ कमर्स र इजरायल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ ।

चेम्बर र इजरायल एसिया चेम्बरबिच व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यावसायिक प्रतिनिधिबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रवर्द्धन लगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो ।

सम्झौता पत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र र इजरायल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत बर्सन्टेन रेचले हस्ताक्षर गरेका हुन् ।

नेपाल इजरायल चेम्बरबीच भएको सम्झौता अनुसार आफ्ना सदस्यहरूको हित अनुकूल हुने गरी व्यापार तथा लगानी सम्बन्धी कानुन र नियमहरूको जानकारी उपलब्ध गराउने उल्लेख छ ।

यस्तै मैत्रीपूर्ण सम्बन्ध विस्तार एवं व्यापार सहजीकरणका लागि मध्यस्थता गर्ने सम्बन्धमा समेत सहकार्यको सम्झौता भएको छ ।

‘नेपाल चेम्बर र इजरायल चेम्बरबीच व्यापार एवं प्रदर्शनी, सूचना प्रविधिमा सहकार्य एवं व्यापार विस्तारका लागि सहकार्य गर्न’,चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कृषिको विकास र खाद्य सुरक्षामा सहकार्यको विषयमा पनि सम्झौतामा उल्लेख छ । उक्त सम्झौतामा कृषिको विकास प्रवर्द्धन पारस्परिक हितलाई मान्यता दिएर खाद्य सुरक्षामा सहकार्य गरिने कुरा समेटिएको छ ।

नेपाल र इजरायलका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधिले एक अर्कोका देशमा गर्ने व्यावसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा पनि सहमति भएको छ ।

वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अध्ययन अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको हो ।

१५,जेष्ठ.२०८१,मंगलवार १३:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्