बजेट समग्रमा राम्रो छ, ऋण धेरै भयोः स्वर्णिम वाग्ले (भिडियो सहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थशास्त्री स्वर्णिम वाग्लेले बजेट समग्रमा राम्रो भएको बताएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेपछि संघीय संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले बजेट गैरजिम्मेवार नभई सन्तुलित भएको बताए ।

‘बजेट मध्यपन्थी छ । जुन बजारमा आकार ह्वात्तै बढ्ला भन्ने थियो, त्यसमा सम्हालिएको छ, तर गैरजिम्मेवार छैन, सन्तुलित छ’, उनले भने ।
वाग्लेले बजेटको आकार भने ठूलो बनाएको बताए । १२ खर्ब ६० अर्ब राजस्व उठाउने लक्ष्य राखिएकामा १८ खर्ब ६० अर्बको बजेट ल्याउँदा धेरै रकम ऋण लिने उद्देश्य राखिएको उनको भनाइ छ ।

‘यसलाई अर्थमन्त्रीले भनेजस्तो योजना बनाएर दशैंअघि नै कार्यान्वयनमा जान सक्ने र पुरानो रोग चिर्न सक्नुभयो भने कार्यान्वयनमा जाने आधार छ’, उनले भने ।

तर ३ खर्ब ३० अर्बको आन्तरिक ऋण र २ खर्ब १७ अर्ब विदेशी ऋण भने धेरै भएको उनले बताए । बजेटमा उल्लेख गरिएको ऋण कुल ग्रार्हस्थ्य उत्पादनको ९ प्रतिशत रहेको भन्दै उनले ५ प्रतिशत भन्दा माथि जान नहुने धारणा राखे । ‘यति हुँदाहुँदै पनि ऋणको रकमबाट आर्थिक वृद्धि भयो भने तिर्न सकिन्छ’, उनले भने ।

सरकारले धेरै आन्तरिक ऋण उठाउँदा निजी उद्यमीले सहज रुपमा ऋण नपाउने, बैंकमा तरलता बढ्ने र ब्याजदरमा पनि चाप पर्ने वाग्लेले बताए ।

१५,जेष्ठ.२०८१,मंगलवार २०:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्