व्यवस्था परिवर्तन भयो, अवस्था जहाँको तहीँ छ भन्ने गलत शब्दावली प्रयोग भइरहेको छ: केपी शर्मा ओली

काठमाडौ । काठमाडौ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो, अवस्था जहाँको तहीँ छ भन्ने गलत शब्दावली प्रयोग भइरहेको बताएका छन्।

काठमाडौंको प्रज्ञा भवनमा बुधबार आयोजना गरिएको एमालेको जनसंगठनहरूको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै उनले कति संघर्ष, लडाइँ गरेर, कुन अवस्था पार गरेर यहाँसम्म आइपुगेको भन्ने अहिलेको पुस्ताले नदेखेको टिप्पणी गरेका हुन्।

‘अवस्था जहाँको तहीँ छ भन्ने होइन। एउटा गलत शब्दावलीको प्रयोग भइराखेको अहिले नेपालमा, व्यवस्था परिवर्तन भयो, अवस्था जहाँको तहीँ छ भन्ने! भर्खर आएको केटाकेटीले के देख्नु के, अवस्था कहाँ थियो, कहाँबाट कहाँ आइपुगियो?,’ उनले भने।

उनले शासन–सत्तामा महिलाको प्रतिनिधित्व बढेको बताए। विकसित भनिएका देशमा पनि महिलाको प्रतिनिधित्व १०–११ प्रतिशतमा सीमित रहेको बताए।

‘कति संघर्ष गरेर, कति लडाइँ गरेर कुन अवस्था पार गरेर यहँसम्म कुन बलिदान दिएर यहाँ आइएको छ, अवस्था उस्ता उस्तै रे! कहाँ छ उस्ता उस्तै छ? महिलाको उपस्थिति संसदमा ३३ प्रतिशत छ,’ उनले भने।

एमालेको राष्ट्रिय महिला भेला बुधबार र बिहीबार चल्ने छ। महिला भेलामा कार्यपत्र प्रस्तुत हुनेछ। त्यसमाथि बिहीबार छलफल हुनेछ।

१६,जेष्ठ.२०८१,बुधबार १६:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्