काठमाडौं महानगरले सुख्खा फोहोर बिक्रीका लागि गर्‍यो दोस्रो पटक टेन्डर आह्वान

काठमाडौ । काठमाडौ महानगरपालिकाले बञ्चरेडाँडा क्षेत्रमा विसर्जन हुँदै आएको सुख्खा फोहोर बिक्रीका लागि पुनः बोलपत्र आह्वान गरेको छ।

हाल धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ को कुँडुले बञ्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रमा काठमाडौं महानगरपालिकासहित २१ वटा नगरपालिकाले फोहोर विसर्जन गर्दै आएका छन्।

त्यहाँ जैविक र सुख्खा फोहोर एकै ठाउँमा बिसर्जन हुँदै आएको छ। बञ्चरेडाँडा पुगेको फोहोर वर्गीकरण गरी बिक्रीका लागि महानगरले बोलपत्र आह्वान गरेको छ। काठमाडौं महानगरले २२ करोड ४८ लाख रुपैयाँमा बोलपत्र आह्वान गरेको हो।

बञ्चरेडाँडा ल्यान्डफिल साइट भित्रको फोहोर पुनः प्रयोग, पुन चक्रिय प्रयोग गर्न इच्छुक व्यक्ति, संघ—संस्थाले जेठ ५ गतेभित्र प्रस्ताव पेश गर्न सक्ने महानगरले जनाएको छ।

काठमाडौं महानगरले यसअघि पनि टेन्डर आह्वान गरेको थियो। तर प्रस्ताव नपरेपछि पुनः बोलपत्र आह्वान गर्नुपरेको महानगरले जनाएको छ।

काठमाडौं उपत्यकाबाट दैनिक सरदर १ हजार ४०० टन फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन हुँदै आइरहेको छ। वर्गीकरण नगरी सुख्खा र कुहिने फोहोर एकै ठाउँमा राखेर विसर्जन गर्दा बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु घटिरहेको महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा पनि औंल्याइएको छ। सहरी विकास मन्त्रालयले बनाएको कार्यविधिअनुसार फोहोर व्यवस्थापन नहुँदा २० हजार घनमिटर क्षमताको लिचेट पोखरी पनि भरिएर कोल्पु खोला क्षेत्रमा हानिकारक रसायन मिसिन पुगेकोसमेत महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ।

हाल बञ्चरेडाँडा ल्यान्डफिल साइट सञ्चालनको जिम्मा काठमाडौं महानगरपालिकाको छ। काठमाडौं महानगरपालिकाका दुईवटा वडाले मात्र फोहोर स्रोतमा कुहिने र नकुहिने रूपमा वर्गीकरण गर्दै आएका छन्।

२१,जेष्ठ.२०८१,सोमबार ०८:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्