संसद हलमा रहेका दुइटा घडीको समय फरक-फरक छ, सुधारौं: हितराज पाण्डे

काठमाडौ । काठमाडौ नेकपा (माओवादी केन्द्र) का सांसद हितराज पाण्डेले प्रतिनिधि सभा बैठक हलमा रहेका दुइटा घडीले फरक-फरक समय देखाइरहेको बताएका छन्।

उनले फरक-फरक समय देखाइरहेका घडीको एकै समय बनाउन पनि आग्रह गरे।

प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोलेका पाण्डेले भने, ‘सबैभन्दा पहिले सदनका सभामा भएका दुइटा घडीका समय फरक-फरक देखिइरहिएको छ। यसलाई सुधार्नका लागि म आग्रह गर्दछु।’

पाण्डेले कुन घडीमा कति समय देखाएको छ भन्ने खुलाएनन्।

मा‌ओवादीका मुख्यसचेतक समेत रहेका पाण्डेले यसो भन्दा सांसदहरूले हलभित्र राखिएका दुइटा घडी हेर्दै मुसुमुसु हाँसेका थिए।

पाण्डेले प्राकृतिक प्रकोप आकस्मिक रूपमा आउने भएकोले पूर्वतयारीको ठोस योजना बनाउनुपर्ने पनि बताए।

‘ग्यास र बिजुलीबाट पनि आगलागी हुने गरेका छन्, अग्नि नियन्त्रक फौजी अनुशासनमा रहनुपर्छ,’ उनले भने।

जनतालाई आपत परेका बेला तीनै तहका सरकारले भरोसा दिनुपर्ने उनले बताए।

२३,जेष्ठ.२०८१,बुधबार १३:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्