काठमाडौं दक्षिणकालीको केराबारी खोंचमा महिला र पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ केराबारीको खोंचमा दुई जनाको शव फेला परेको छ । प्रदेश ३०२००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकलसहित एक महिला र १ पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।

बुधबार अपरान्ह साढे चार बजेको समयमा केराबारी स्थित भिरमा महिला र पुरुषको शव रहेको जानकारी स्थानीयले प्रहरीलाई गरेका थिए ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले सडकबाट दुई सय मिटर तल भिर पहरामा अड्किएको मृत अवस्थामा दुई वटा शव फेला परेको परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी)नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार घटना स्थलमा टुक्रिएको अवस्थामा प्रदेश ३०२००७ प ३८१२ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलको पार्टपुर्जा सहित बिहीबार बिहान १० बजे शव निकालिएको हो ।

उद्वार गरिएका शवमा धादिङ सिद्धलेख गाउँपालिका पाँच घर भई हाल भक्तपुर बस्दै आएका ४२ वर्षका रामचन्द्र खनाल चाँगुनारायण नगरपालिका पाँच भक्तपुर घर भएका ३२ वर्षका सबिना राई रहेका छन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौ तथा प्रहरी वृत्त कीर्तिपुरबाट अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

२४,जेष्ठ.२०८१,बिहीबार १०:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्