गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मागे विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताका हैसियतले जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले आज संसद्‌मा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

विश्वासको मत लिएरमात्रै मुख्यमन्त्री पाण्डेले मंगलबार नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने योजना बनाएका छन् ।

प्रदेश सभाको ठूलो दल कांग्रेसका २७ जना सांसद छन् । यसअघि खगराज अधिकारीले विश्वासको मत माग्दा तटस्थ बसेको राप्रपाले पनि समर्थन गर्ने पक्काजस्तै छ ।

बहुमत संख्या ३१ पुर्‍याउन पाण्डेले मनाङबाट स्वतन्त्र सांसद जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) र माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले फ्लोर क्रस गर्ने विश्वासका साथ पाण्डेले विश्वासको मत मागेका हुन् ।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पाण्डेले असार १३ गतेभित्र विश्वासको मत लिनुपर्ने थियो ।

२८,जेष्ठ.२०८१,सोमबार १५:४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्