श्रमाधान मेलामा स्वास्थ्य व्यवसायी महासंघको स्टल-२५ सयलाई सेवा, स्वदेशमै रोजगारीमा टेवा

काठमाडौं । सातै प्रदेशमा श्रम तथा रोजगार मन्त्रालयले चलाएको श्रमाधान मेलामा नेपाल स्वास्थ्य व्यवसायी महासंघले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर २५ सय भन्दा बढीलाई सेवा प्रवाह गरेको छ ।

प्रत्येक प्रदेशमा दुई दिनको दरले १४ दिनसम्म श्रमाधान मेलामा महासंघले आफ्नो स्टलसहित स्वास्थ्य सेवा प्रवाह तथा काउन्सिलिङ गरेको छ । यस क्रममा १५ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको महासंघका अध्यक्ष कैलाश खड्काले जानकारी दिए ।

यसका साथै रोजगारीका लागि विदेश जाने कामदार तथा श्रमाधान मेलामा आउनेहरूलाई स्वास्थ्य परीक्षणको बारेमा काउन्सिलिङ गरिएको खड्काले बताए ।

महासंघमा आबद्ध अस्पताल,क्लिनिक र स्वास्थ्य संस्थाहरूमा आवश्यक स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिका लागि श्रमाधान मेलामा आउनेहरूको विवरण समेत संकलन गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

श्रमाधान मेलामा आएर आफ्नो विवरण बुझाएका युवाहरूलाई आवश्यकता अनुसार महासंघमा आबद्ध अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उनीहरूको योग्यताबमोजिमको रोजगारीका लागि बोलाइने उनले बताए । स्वास्थ्यकर्मी तथा लेखालगायतका कर्मचारीले ती संस्थामा रोजगारी पाउने भएका छन् ।

श्रमाधान मेलामा महासंघले आफ्नो उपस्थिति र निःशुल्क स्वास्थ्य शिविर चलाएर नेपालमै रोजगारीको सम्भावना पनि छ भनेर बुझाउने प्रयास गरेको अध्यक्ष खड्काले बताए ।

श्रम तथा रोजगार मन्त्री डिपी अर्यालले देशभित्र र बाहिर दक्ष रोजगारीका थप क्षेत्र खोज्न थालेको ऐतिहासिक अभियानलाई सफल बनाउन श्रमाधान मेलामा महासंघले आफ्नो स्वयंसेवी भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

स्वास्थ्य व्यवसायी महासंघले यसअघि विनाशकारी भूकम्पको बेला र कोभिड महामारीका बेला पनि यस्ता खाले स्वास्थ्य शिविर चलाएर प्रभावितलाई सहयोग गरेको थियो ।

विगत १९ वर्षदेखि महासंघले यस्ता सामाजिक काममा राज्यलाई सघाएको अध्यक्ष कैलाश खड्काले बताए ।

३०,जेष्ठ.२०८१,बुधबार १०:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्