कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा ताप्लेजुङको घटनाप्रति दु:ख व्यक्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गएराति ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पहिरोमा परी चारजनाको निधन भएको घटनामा दु:ख व्यक्त गरेका छन् । कार्कीले मृतकहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै पीडित परिवारजनमा समवेदना जनाएका छन् ।

शुक्रबार बिहानैदेखि सुरक्षा निकायका प्रमुख र कोशी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन संवाद गरी मुख्यमन्त्रीले जिल्लाको अवस्था बुझेका छन् ।

प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरूलाई भौतिक र मानवीय क्षति कम गर्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा पनि कुरा गर्नुका साथै राहत र उद्धारका काममा पनि उनले चासो राखेका छन् ।

अहिले बाढी पहिरो र वर्षाको समय भएकाले यस्तो बेलामा प्रदेश सरकारबाट गर्न सकिने सहयोग र उद्धारका बारेमा पनि मुख्यमन्त्री कार्कीले सम्बन्धित निकायसँग छलफल गरिरहेको सचिवालयले जनाएको छ । राजनीतिक दल, सामाजिक अभियन्ता र स्वयमसेवीहरूलाई समेत काम गर्न उनको आग्रह छ ।

३२,जेष्ठ.२०८१,शुक्रबार ११:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्