संसदीय समितिको बैठकमा एनजीओले खाजा खुवाउनुपर्ने स्थिति बन्नु दु:खद् : नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय समितिको बैठकमा एनजीओले ल्याएको खाजा खुवाउनुपर्ने स्थिती आउनु दुखद् भएको बताएको छ ।
संसद सचिवालयका कर्मचारीको आन्दोलनपछि आज सभामुख र राष्ट्रियसभाको अध्यक्षले राखेको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले समितिको बैठकमा एनजीओले खाजा खुवाउनुपर्ने विषय गम्भीर र संवेदनशील भएको बताए ।

उनले भने, ‘हिजोको राज्यव्यवस्था समितिको बैठकमा एनजीओले ल्याएको खाजा खुवाएको विषयमा बैठकमा छलफल भयो । यो गम्भीर र संवेदनशील विषय हो । कतिपय अरु समितिहरूमा पनि एनजीओहरूले बेलाबखतमा खाजाको व्यवस्था गर्ने गरेका थिए । तर, संसदले व्यहोर्न नसकेर एनजीओसँग मागेको हो कि एनजीओहरूले पनि समितिका कामकारबाहीहरु गरिरहेका हुन्छन् । त्यही सन्दर्भमा गरेका हुन् मलाई पर्याप्त जानकारी छैन ।’

संसद र सरकारले रकम नव्यहोरेका कारणले बाहिरबाट ल्याएर काम चलाउनुपर्ने कुरा दुखद् भएको बताए ।

हिजो राज्यव्यवस्था समितिको बैठकमा गैरसरकारी संस्थाले खाजा बाँडेपछि खैलाबैला भएको थियो । गृहमन्त्री रवि लामिछाने बैठक छाडेरै हिँडेका थिए ।

३,असार.२०८१,सोमबार १४:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्