नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरको चुनौती, नयाँले १० वर्ष पार्टी चलाएर देखाउन्

रुपन्देही । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नयाँ पार्टी खोलेर चर्चामा आएकाहरूलाई १० वर्ष पार्टी चलाएर देखाउन चुनौती दिएका छन् ।

‘मै हुँ भन्ने नयाँ पार्टीले १० वर्ष पार्टी चलाएर देखाउन सकून् कस्तो हुन्छ पार्टी चलाउन भनेर बुझून्, अहिलेको मै हुँ भन्ने नयाँ पार्टी, जातीय र धार्मिक पार्टीले १० वर्ष पार्टी चलाएर देखाउन्’ सोमबार कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा राठौरले भने ।

‘७० वर्ष नेपाली कांग्रेस चलाउनु, यहाँसम्म पुर्‍याउनु कति गर्नुपर्‍यो होला ? समीक्षा गर्नुस् । राणा, पञ्चायत र राजा फाल्यौं । कम्युनिष्टहरूलाई राजनीतिक र लोकतान्त्रिक पद्दतिको मूल प्रवाहमा ल्याउन कांग्रेसलाई कति ग्राहो भयो भन्ने कुरा अहिलेको नयाँ पुस्ताले बुझ्न जरुरी छ, पुरानाले बुझेका छन्’ नेता राठौरले भने ।

कांग्रेसबाहेक कसैले जनताको पक्षमा काम गर्न नसक्ने उनको दाबी छ । मुलुकमा कांग्रेसको नेतृत्वमा संविधान जारी भएको भन्दै राठौरले यो सानो कुरा नभएको जिकिर गरे ।

उनले विगतमा राजालाई सँगै लिएर हिँड्न खोजे पनि राजा आफूहरूसँग जान नचाहेकोले राजतन्त्रको अन्त्य भएको बताए । राजा फर्किन्छन् भन्ने भ्रममा नरहन नेता-कार्यकर्ताहरुलाई उनको आग्रह छ ।

राठौरले भने, ‘कम्युनिष्टले गर्दा देशमा निराशा बढेको छ । कांग्रेस जनताप्रति अझ जिम्मेवार र उत्तरदायी बन्नुपर्छ ।’

कांग्रेसमा एकता ल्याउने हो भने वडादेखि केन्द्रसम्म निर्वाचन नगरी सर्वसम्मत रूपमा अघि बढ्नुपर्ने उनको तर्क छ । सांसदसमेत रहेका राठौरले कांग्रेस लामो इतिहास बोकेको पार्टी भएको र कांग्रेसका सदस्यहरूले पार्टीमा आबद्ध हुने कुराप्रति गर्व गर्नुपर्ने बताए ।

३,असार.२०८१,सोमबार १६:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्