प्रत्येक ठाउँमा दलीय भागबण्डा गरी राज्यस्रोत दोहन गर्ने प्रवृत्ति मौलायो : भट्टराई

काठमाडौं । प्रधानमन्त्री दाहाललाई गोरखाबाट चुनाव जिताउन भूमिका खेलेकोप्रति दुःख व्यक्त गर्दै भट्टराईले भने- मेरो उदारता, सदासयतालाई कमजोरी ठानेर खेलवाड भयो, त्यसका निम्ति दुःखी र लज्जित छु, गोरखाली जनतासँग क्षमायाचना गर्न चाहन्छु ।

गोरखा — नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यका प्रत्येक निकायमा दलीय भागबण्डा गर्ने र राज्यस्रोतको दोहन गर्ने प्रवृत्ति मौलाएर गएको बताएका छन् ।

प्रत्येक ठाउँमा दलीय भागबण्डा गरी राज्यस्रोत दोहन गर्ने प्रवृत्ति मौलायो : भट्टराई

पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन गृह जिल्ला गोरखा आएका भट्टराईले पत्रकारहरूसँगको भेटघाटमा केन्द्र र प्रदेश सरकार पटक-पटक फेरबदल हुने, राजदूत जस्तो देशको प्रतिनिधित्व गर्ने व्यक्तिहरू सरकार फेरिने बितिक्कै परिवर्तन गरेर दलीय भागबण्डामा मान्छे पठाउने कुरा खेदजनक रहेको बताए ।

‘नेपाली राजनीतिमा मजाक भइरहेको छ, प्रत्येक कुरामा दलीय भागवण्डा गर्ने, काक्रो चिरेझैं चिरेर खाने र राज्यस्रोतको दोहन गर्नुलाई नै राजनीतिक अभिष्ट ठान्ने प्रवृत्ति मौलाएर गयो,’ भट्टराईले भने, ‘केन्द्र सरकारको पटक-पटक फेरबदल, प्रदेश सरकारको फेरबदल, हुँदा-हुँदै राजदूतजस्तो देशको प्रतिनिधित्व गर्ने व्यक्तिहरूलाई सरकार फेरिने बितिक्कै फेर्ने र दलीय भागबण्डामा मान्छे पठाउने कुरा खेदजनक छ, यो लोकतन्त्र होइन ।’ लोकतन्त्रका लागि लडेका नेताहरूले नै लोकतन्त्रलाई कमजोर पार्ने गतिविधि गर्नु निन्दनीय भएको उनको भनाइ थियो ।

केन्द्र सरकार परिवर्तनसँगै प्रदेश सरकार पनि फेर्ने गलत परम्परा पुराना दलहरू र मुख्यतया प्रधानमन्त्री पुष्पकमल दाहालले सुरु गरेको भट्टराईको आरोप थियो । गण्डकी प्रदेश सभामा नेसपाका सांसद फणिन्द्र देवकोटालाई केन्द्रबाट निर्देशन दिएर कारबाही भएको उनको दाबी थियो । ‘प्रदेशका सभामुखलाई समेत प्रभावित पारेर विधि, प्रक्रिया मिचेर फणिन्द्र देवकोटालाई प्रदेश सभाबाट निष्कासित गर्नुभयो, यस्तो प्रकारका गतिविधिले लोकतन्त्रम ठूलो नोक्सान भयो,’ उनले भने ।

प्रधानमन्त्री दाहालबाट गोरखाली जनतालाई घात भएको पनि भट्टराईको आरोप थियो । ‘पाहुना उम्मेदवारको रुपमा ल्याएर जुन विश्वास गरेका थियौं, यसले देशलाई, लोकतन्त्रलाई र खासगरी गोरखाली जनतालाई पनि ठूलो घात भयो भन्ने लाग्छ,’ भट्टराईले भने । आफूले राम्रो र असल नियतले प्रधानमन्त्री दाहाललाई गोरखा बोलाएर विजयी गराएको भट्टराईको दाबी थियो । प्रधानमन्त्री दाहाल सत्तामा बसुन्जेल देशमा अस्थिरता भइरहने उनले बताए ।

‘मेरो उदारता, सदासयतालाई कमजोरी ठानेर खेलवाड भयो, त्यसका निम्ति दुःखी र लज्जित छु, गोरखाली जनतासँग क्षमायाचना गर्न चाहन्छु,’ उनले भने । क्रान्तिकारी परिवर्तन पछिको उपलब्धिको रक्षागर्ने, संविधानको रक्षा र शन्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्ने उद्देश्यका साथ दाहाललाई साथ दिएको उनले बताए । उदारता पूर्वक गोरखा आएर चुनाव लड्न आफूले आग्रह गरेको उनले बताए । ‘चितवनमा आफ्नो क्षेत्र असुरक्षित रहेको उहाँमा महसुस थियो, अन्तिम निर्णय भन्दा अघि उहाँको भनाई अहिले पनि सम्झन्छु, बिहानै फोन गर्नुभयो ‘बाबुरामजी तपाईं कै शरणमा आउने भएँ’ भन्नुभयो, शब्द यहि थियो, किन यो शब्द प्रयोग गर्नुभयो होला भनेर मनमनै म हासेँ,’ भट्टराईले भने । निर्वाचन सम्पन्न भएदेखि नै दाहालले चरम शत्ता लिप्सा प्रकट गर्न थालेको भट्टराईले बताए ।

‘दलहरूसँग भएका सहमति विपरीत जसरी पनि सत्तामा रहने, मूल्य मान्यताको कुनै प्रवाह नगर्ने प्रवृत्ति देखाउनुभयो, त्यतिबेला देखि नै गडबडी सुरु भयो,’ उनले भने ।

त्यस्तै, भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजना परिकल्पनाअनुसार बहुउद्देश्यीय रुपमा अघि बढाउनुपर्ने बताए । तर, विद्युत प्राधिकरण र सहायक कम्पनीबाट बहुउद्देश्यीय रुपमा गरिएको परिकल्पना सम्भव नरहेको उनको भनाई छ । ‘बहुउद्देश्यीय रुपमा अघि बढाउनुपर्छ, बुढीगण्डकी विकास प्राधिकरण बनाएर त्यस मार्फत बनाउनुपर्छ, त्यसो भए यो राष्ट्रिय गौरवको आयोजना बन्छ,’ उनले भने, ‘विद्युत प्राधिकरण मार्फतको सहायक कम्पनीबाट त्यो रुपमा योजना बन्दैन ।’

८,असार.२०८१,शनिबार १५:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्