सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका शुकबहादुरको परिवारलाई राहत दिन महेश बर्तौलाको माग

काठमाडौ । काठमाडौ पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको गोली लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का शुकबहादुर तामाङको मृत्यु भएको भन्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राहत दिन माग गरेका छन्।

प्रमुख सचेतक बर्तौलाले आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै तामाङको हत्या भएकाले राहत दिन माग गरेका हुन्।

‘हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ निवासी शुकबहादुर तितुङ, उनको घर आँगनमै जंगल जोडिएको छ। जहाँ मध्यवर्ती क्षेत्र पर्छ। मध्यवर्ती क्षेत्र पर्ने वनभित्र केही साथीहरूसहित उनी गएका थिए। पर्सा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरू, त्यहाँ खटिएका नेपाली सेनाले शुकबहादुर तितुङ लगायत त्यहाँका जनताहरूलाई आक्रमण गरे। अस्ति असार ७ गते शुकबहादुर तितुङलाई गोली हानेर हत्या गरे,’ उनले बैठकमा भने।

वनजंगल र त्यहाँको जैविक विविधताको संरक्षण गर्ने नागरिकमाथि दिनदहाडै गोली हानिएको भन्दै उनले क्षतिपूर्तिको माग गरेका छन्।

सामान्य मानवीयता पनि नराखी छातिमा गोली ठोकेर हत्या गर्नेसम्मको ठूलो जघन्य अपराध भया । लोकतन्त्रमा दिनदहाडै नागरिकलाई गोली ठोकेर मार्दिने सम्मको काम भयो! घटना भइसक्यो। दोषी सुुरक्षाकर्मीहरूलाई पहिचान गर्ने, कारबाहीको तहमा अगाडि लैजाने र पीडित परिवारलाई क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाउन आग्रह गर्छु,’ उनले भने।

उनले निकुञ्ज आसपास र मध्यवर्ती क्षेत्रमा विकास निर्माणका परियोजना अगाडि बढाउन त्यहाँका सुरक्षाकर्मीले रोक्ने गरेको बर्तौलाले बताए। यसलाई रोकी मध्यवर्ती क्षेत्रमा विकास–निर्माणमा सहजीकरण गर्न उनले सकारलाई आग्रहसमेत गरे।

९,असार.२०८१,आईतवार १३:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्