“सरकारले आगामी आर्थिक वर्ष ४ खर्बको काठ बिक्री गर्छ” मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडीले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्री सुडीले सरकारले मन्त्रिपरिषद्बाट काठको मूल्य ३५ प्रतिशतले घटाउने निर्णय गरेको पनि जानकारी दिए ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षका लागि मन्त्रालयले विनियोजन गरेको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री सुडीले अब सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताएका हुन् । सांसदहरूले नेपाली काठको प्रयोग गर्ने योजना मन्त्रीसँग माग गरेका थिए ।

मन्त्री सुडीले विगतमा काठको मूल्य बढी भएको कारणले नेपालका काठ बिक्री हुन नसकेका बताए । उनले एक, दुई महिनाभित्रमा नै सबै नियम, कानुन मिलाएर नेपाली काठलाई मलेसियन काठभन्दा महंगो पर्न नदिने बताए ।

‘एक, दुई महिनाको अन्तर्गत सबै नियम, कानुन बनाएर हाम्रो काठ मलेसियाको काठभन्दा महङ्गो पर्दैन । वन ऐन, २०२९ को लागि म एकदम दृढ संकल्पित छु । यो ऐनलाई सुधार गर्नुपर्छ । जुन कानुन राजाको समयमा, पञ्चायति व्यवस्थाको समयमा बनेको त्यो कानुनले अहिलेपनि वन मन्त्रालय सञ्चालन गर्नुहुन्छ, यो कतिसम्म जायज छ ?,’ मन्त्री सुडीले भने, ‘त्यसकारणले यो छिटोभन्दा छिटो संसद्मा आउँछ । तर अल्पकालमा हामीले मन्त्रिपरिषद्बाट ३५ प्रतिशत पैसा घटाएको छौँ । किनकी त्यसैकारणले ४ वर्षदेखि हाम्रो काठको एक पैसा पनि आइराखेको छैन । म तपाईहरूको विश्वास दिलाउन चाहन्छु कि सरकारले यसपालि ४ खर्ब रुपैयाँको काठ बेच्छ र ४ खर्ब रुपैयाँ वन मन्त्रालयको आम्दानी हुन्छ ।’

मन्त्री सुडीले नेपालमा आवश्यक पर्ने काठ नेपालकै प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले विदेश काठ उपयोग नगर्ने नीति लिनुपर्ने बताए । उनले सामुदायिक वनलाई नियमन तथा अनुगमन गरेर अझ बलियो बनाउनुपर्ने बताए । उनले एक व्यक्तिले कम्तिमा १० वटा रुख रोप्नुपर्नेमा जोड दिए ।

९,असार.२०८१,आईतवार १७:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्