वन जोगाएर आम्दानी बढाउन लुम्बिनीमा ‘एन्जिओप्लाष्टी’ अभियान

रुपन्देही । लुम्बिनी प्रदेशमा वन क्षेत्रभित्र रहेका खोल्साखोल्सीबाट वन, वस्ती जोगाउँदै आम्दानीको स्रोत बढाउन ‘एन्जिओप्लाष्टी’ अभियान संचालन गरिएको छ ।

वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापनमा सातै प्रदेशमा सबैभन्दा अगाडि रहेको लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बनबाट हुने आम्दानीका केही नमुना अभ्यासहरु थालनी भएको छ । वनबाट काठदाउराको मात्रै आम्दानी हुने विषयलाई यी अभ्यासले वनको संरक्षण मात्रै होइन स्थानीयलाई आम्दानीसँगै र रोजगारीमा समेट्न थालेको छ ।

अहिले लुम्बिनीका विभिन्न जिल्लामा रहेका वन क्षेत्रमा रहेका खोल्साखोल्सी व्यवस्थापनको अभियानले वनको संरक्षण र स्थानीयलाई पनि बाढीप्रकोपको जोखिमबाट जोगाएको छ ।

खासगरी चुरे पहाडसँग जोडिएका वनमा भएका यस्ता खहरे खोल्साखोल्सीहरुमा जम्मा हुने ढुंगा गिट्टीको उपयुक्त संरक्षण गरी प्राविधिक चेकजाँचका आधारमा गरिने व्यवस्थापनबाट ती खोलामा आउने बाढीको क्षति कम हुनुका साथै नियमित आम्दानी पनि व्यवस्थापन हुन थालेको छ । वन कार्यालयहरुले यो अभियानलाई ‘एन्जिओप्लाष्टी’ नाम दिएर कार्यक्रम अघि बढाएको छ । खोल्साखोल्सीलाई निश्चित क्षेत्रमा निर्धारण गरी वरिपरी व्यवस्थापन गर्ने कामलाई वन कार्यालयले ‘एन्जिओप्लाष्टी’ नाम दिएको छ ।

पछिल्लो पटक यसको प्रयोग कपिलवस्तु जिल्लाका तिन वटा सामुदायिक वन क्षेत्रमा गरिएको छ । खोल्साखोल्सी व्यवस्थापनमा नमुना अभ्यासका रुपमा बाणगंगा नगरपालिका वडानम्बर ९ भलवाडस्थित खुतखुते सामुदायिक वन क्षेत्रको कोइली खोला, कोइलीचौर सामुदायिक वन क्षेत्र र ऋङ्गीघाट सामुदायिक वनले अगाडि बढाएका छन् ।

वन ऐनअनुसार खोल्साखोल्सीको व्यवस्थापनको क्षेत्राधिकार वन मातहतमा परेसँगै डिभिजन वन कार्यालय कपिलवस्तुको सहयोगमा खुतखुते सामुदायिक वन उपभोक्ता समूहले तीन वर्षयता कोइली खोलाको खोल्साखोल्सी व्यवस्थापन गर्दै आएको र आम्दानीको पनि नियमित स्रोत बनेको जिल्ला वन कार्यालयका प्रमुख विजयराज सुवेदी बताउँछन् ।

खोला व्यवस्थापनका क्रममा खोलामा थिग्रिएका ठूला ढुङ्गालाई खोलाको किनारमा थुपारेर नदी कटान रोक्ने र बीचको गेग्रान निकाल्ने गरिएको छ । निकालिएको नदीजन्य सामग्रीको घाटगद्दीपश्चात नापजाँच पूरा गरेर बिक्री बितरण गरिँदै आएको छ ।

यसरी खोला खोल्सा व्यवस्थापनका क्रममा पहिलो बर्ष ३ लाख क्यु फुट, दोस्रो बर्ष १ लाख ८५ हजार क्यु फुट र यस बर्ष ३ लाख क्यु फुट ढुङ्गागिट्टी निकालिएको हो । सो व्यवस्थापनको कारण खोलाको बिचमा पुरिएको भाग खुला भई खोलाले बाढीका बेला आफ्नो धार परिर्वतन गर्न नपाउने अवस्था सिर्जना भएको छ । जसका कारण खोलाको बहाव गाउँतिर पस्ने जोखिम घटेको छ । बिगतमा खोलाको बीच भागमा ढुङ्गागिट्टी (गेग्रान) थिग्रिदा बर्षातका बेला पानीको सतह खोला माथि आएर गाउँमा पस्ने जोखिम बढी हुने गरेको भलवाडका स्थानीय पोमप्रसाद अर्यालले बताए ।

खोलाको बहाव खोलाको किनारतर्फ मोडिई किनारामा कटान बढ्दा भर्लाबास, भर्तापुर, पडरिया, बक्सिसपुर र चौवामा कटान र बाढी पस्ने गरेको उनले अनुभव सुनाए । पछिल्लो समय खोलाको ठूला ढुङ्गालाई किनारका दुवै साईडमा थुपार्दा र ग्रेग्रान निकाल्दा कटान र खोलाको बहाव परिर्वतनको समस्या समाधान हुन पुगेको उनले बताए ।

पहिले खोलाको किनारमा गेबिन जालीले कटान रोक्ने प्रयास गरिँदै आएको भए पनि बिचमा गेग्रान थिग्रिदा खोलाको भेल गाउँतिर फर्किने गरेको अवस्था रहेको खुतखुते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिमबहादुर पुनले बताए । खोलाको बहाव परिर्वतन हुँदा भर्लाबास गाउँको पश्चिमतर्फ कटानको समस्या बढ्दै गएकोमा अब सो समस्या टरेको उनले अनुभव सुनाए । स्थानीय सकुन्तला आचार्यले यसरी खोला व्यवस्थापन भएपछि सधै वर्षाको समयमा आफ्नो खेतमा आउने ग्रेगेटो आउन छाडेको र आफूहरुलाई पनि सहज भएको बताइन् ।

खोल्साखोल्सी व्यवस्थापनले खोलालाई सुरक्षित बनाउनुका साथै नदीजन्य पदार्थको सहज आपूर्तिलाई सुनिश्चित गरेको र क्षमताअनुसारको रोजगारीको अवसर समेत सिर्जना भएको उनले बताइन् । खोलामा रहेका ठूला ढुङ्गा दुवै किनारामा लगाउँदा खोलाको किनार सुरक्षित हुनुका साथै बीचको पुरिएको भागसमेत सफाई गर्न सहयोग पुगेको छ ।

खोेल्साखोल्सी व्यवस्थापनका लागि सो खोलामा डिभिजन वन कार्यालय कपिलवस्तुले पहिलो र दोस्रो वर्ष २५–२५ लाख र यस बर्ष ५० लाख रूपैयाँ सामुदायिक वनलाई सहयोग गरेको थियो । सो लगानीले गरिएको खोला व्यवस्थापनको कार्यले लागतको दुई गुणा बढी मूल्यको नदीजन्य पदार्थ संकलन हुनुका साथै खोलाको व्यवस्थापन समेत भएको छ । खोला व्यवस्थापनबाट भएको आम्दानीको १० प्रतिशत व्यवस्थापनमा खटिएको सामुदायिक वनले पाउने व्यवस्था छ ।

बाँकी ९० प्रतिशतलाई १ सय प्रतिशत गणना गरी सोको ७५ प्रतिशत प्रदेश सरकारले र २५ प्रतिशत राजश्व संम्बन्धित स्थानीय तहले पाउने व्यवस्था छ । खोल्साखोल्सी व्यवस्थापन अन्तर्गत कोइली खोलामा गरिएको खोला व्यवस्थापनको कार्यले चुरे र गाउँबस्तीको संरक्षणमा भुमिका खेलेको डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत बिजयराज सुवेदीले जानकारी दिए । यो मोडलमा काम गर्दा बर्षातको बेला बाढी गाउँमा पस्न नपाउने, खोला आफ्नै लयमा बग्ने र स्थानीय रोजगारी तथा आयआर्जनमा बृद्धि हुने सुवेदीको भनाइ छ ।

कपिलवस्तुको कोइलीचौर सामुदायिक वन उपभोक्ता समूहले यस वर्ष सुरु गरेको खोल्साखोल्सी व्यवस्थापनको सोही मोडलअनुसार ३ लाख ५० हजार क्यु फिट नदीजन्य पदार्थ संकलन गरी घाटगद्दी गरी सकेको छ । त्यसैगरी ऋङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहले पछिल्लो दुई वर्षयता भालु खोलाको दुवै किनारमा ढुङ्गा थुपारेर बीचको भाग सफा बनाई बर्षातको पानी नआउँदासम्म गाडी गुडाएर गस्ती गर्न मिल्ने गरी खोला व्यवस्थापन गरेको छ ।

डिभिजनल वन अधिकृत प्रभात सापकोटाले जोखिम हटाउन, राजश्व बढाउन र वातावरण जोगाउन खोल्साखोल्सी व्यवस्थापनले महत्वपूर्ण भूमिका खेलेको बताउँछन् । ‘वनको स्रोतहरु काठदाउरा मात्रै भनियो, धेरै वन क्षेत्रभित्र यस्ता खोल्साहरु व्यवस्थापन नहुँदा वन क्षेत्र पनि घटेको छ भने ती खोल्सा बढेर छेउँमा रहेका वस्तीहरु पनि जोखिममा परेका छन्’ उनले भने ।

लुम्बिनी प्रदेशमै वनको क्षेत्राधिकारभित्र पर्ने खोल्साखोल्सी व्यवस्थापनको कार्य कपिलवस्तु र रूपन्देही जिल्लामा भएको लुम्बिनी प्रदेश वन निर्देशनालयका निर्देशब दधिराम कंडेल बताउँछन् ।

कपिलवस्तुका तीन वटा सामुदायिक वनसहित रूपन्देहीको देवदहस्थित बुद्ध सामुदायिक वनले खोला व्यवस्थापनको अभ्यास गरेको उनले बताए । निर्देशनालयले अहिले सबै पालिकामा अध्ययन गरेर कहाँ कति यस्ता खोल्साहरु रहेका छन् र तिनीहरुको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा योजना बनाइरहेको उनले जनाए ।

१०,असार.२०८१,सोमबार ०८:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्