महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्न तोसिमाको माग, बच्चाको लिटोको बजेट काटिएकोमा आपत्ति

काठमाडौं । रास्वपा सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले देशभरका महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्न सरकारी तथा निजी कार्यथलोमा स्तनपान कक्ष र शिशु स्याहार कक्ष स्थापनाको लागि ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद कार्कीले सिंहदरबारभित्र रहेको एकमात्र शिशु स्याहार केन्द्रको बजेट कटौती गरिएकोमा आपत्ति समेत जनाइन् ।

उनले भनिन्– हामी लैंगिक समानता र समावेशीताको नारा त लगाउँछौं । तर के हाम्रा कार्यालय र कार्यथलोहरु लैंगिक मैत्रि छन् ? कार्यथलोमा हुने हिंसा र दुव्र्यवहारका बारे बोलेका छौं । आज म महिला कर्मचारी सुत्केरी र गर्भवतीको विषयमा कुरा उठाउँदैछु ।

सिंहदरबारभित्र महिला बालबालिका मन्त्रालय अन्तर्गत रहेको शिशु स्याहार केन्द्रमा महिला निजामति कर्मचारीका ७५ जना बालबालिका छन् । एकजना आमाले धेरै बालबालिका हेर्नुपर्ने अवस्था छ । यसमा कर्मचारी थपेर नमुना शिशु स्याहार केन्द्र बनाउनुपर्नेमा बजेट घटाइएको छ । बच्चाको लिटोको बजेट काटिएकोमा महिला कर्मचारी हतोत्सासहित छन् ।

सांसद कार्कीले देशभरका सुत्केरी र गर्भवती महिलाको अधिकार सुनिश्चित गर्न माग समेत गरेकी छन् ।

१०,असार.२०८१,सोमबार १६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्