प्रतिकूल मौसमले ‘भीआईपी’ सवार जहाज भैरहवा अवतरण गर्न सकेन, यात्रुको रुवाबासी !

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयाँलसहित यात्रु चढेको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौं फिर्ता भएको छ ।

योजना आयोगका अनुसार जहाजमा आयोग टोली थियो । बुद्ध एयरको ‘यू४–८८१’ उडान नम्बरको जहाज प्रतिकूल मौसमका कारण भैरहवामा अवतरण गर्न सकेको थिएन ।

जहाज अवतरण गर्न नसकी काठमाडौं फर्किंदा जहाजभित्र रुवाबासी चलेको योजना आयोग उपाध्यक्षको सचिवालयले उल्लेख गरेको छ ।

आयोग टोली बुटवलस्थित बुटवल धागो कारखाना, धौवाधी फलाम उद्योग लगायत अनुगमनमा बुटवल जाँदै थियो । यो टोलीको आगामी शुक्रबार मात्र काठमाडौं फर्किने योजना थियो ।

जहाज बिहान करिब ८ बजे भैरहवा पुगे पनि विमानस्थलमा अवतरण हुन नसकी काठमाडौं नै फिर्ता भएको हो ।

‘प्रतिकूल मौसमका कारण जहाज डाइभर्ट गर्नुपरेको हो,’ बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने, ‘उक्त उडानलाई मध्याह्न १२ बजे पुनः भैरहवा अवतरण गराइसकिएको छ ।’

१२,असार.२०८१,बुधबार १४:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्