सहकारीबाट गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने छानबिन समितिको निर्णय

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको कागजात मगाउने निर्णय गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए । समितिको कार्यादेशको अनुसूची २ मा रहेका ९ वटा सहकारीका सम्दर्भमा सम्बन्धीत निकायबाट कागजात मगाउने निर्णय समितिले गरेको छ ।

ती सहकारीहरुको साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण र अन्य आवश्यक बित्तिय बिबरणका साथै बिभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको स्थीति समेत ६ वटा बुँदामा कागजात माग गर्ने निर्णय भएको संयोजक थापाले उल्लेख गरे ।

उनले गोर्खा मिडियामा बिभिन्न सहकारीबाट प्रवाह भएको रकममा समितिको चासो केन्द्रित रहेको जिकिर गरे । त्यस्तै थापाले यसअघि गठन भएका बिभिन्न समिति, आयोग लगाएतको प्रतिवेदन प्राप्त भएको र अध्ययनका लागि समिति सदस्यहरुलाई बितरण गरिएको जानकारी दिए । सभापति थापाले सहकारी छानबिनमा समग्ररुपमा अध्ययन गरिरहेको भन्दै निष्पक्ष रुपमा छानबिन हुने दाबी गरे ।

त्यस्तै, बुधबार बसेको बैठकले नै समस्याग्रस्त सहकारीको छानबिनका लागि सहकारीबिज्ञ दिपक प्रसाद बास्कोटा र केशव बडालसँग पनि परामर्श गरेको थियो । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

१२,असार.२०८१,बुधबार १६:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्