सिन्धुलीको मूलकोट र खोटाङको हलेसीमा पौवा रिसोर्ट सञ्चालन

काठमाडौं । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालिले सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मूलकोटमा पौवा होटल र खोटाङको हलेसीमा पौवा रिसोर्ट सुरु गरेको छ ।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ भन्ने मूल मन्त्रलाई आत्मसात देशभर पौवालाई विस्तार गरिएको पौवा ग्रुपले १४ औं शाखा सिन्धुलीको मूलकोटस्थित सुनकोशी किनारमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा बिच रिसोर्ट सञ्चालन गरेको हो । यस्तै ग्रुपले १५ औं शाखा खोटाङको हलेसीमा ४५ रोपनी क्षेत्रफलमा ४० करोडभन्दा बढीको लगानीमा पौवा रिसोर्ट सञ्चालनमा ल्याएको हो ।

नेपालको पर्यटन उद्योगलाई थप उचाइमा पु¥याउन मिसन १०० को योजनासहित अगाडि बढेको होटल पौवा नेपालको पश्चिम क्षेत्रबाट पूर्वतर्फ अगाडि बढेको हो । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले भने ‘८ वर्षदेखि पर्यटन उद्योगलाई विस्तार गर्न होटलमा लगानी गरेका छौं । काठमाडौंदेखि ९० किलोमिटरको दूरीमा रहेको सिन्धुलीको मूलकोट पर्यटकका लागि उत्तम गन्तव्य हो । काठमाडौंको भीडभाडबाट सुनकोशी नदी किनारामा शान्त वातावरण रहेकोले आन्तरिक र बाह्य पर्यटकको लागि लक्षित गरेर पौवा रिसोर्ट खोलेको हौ ।’

खोटाङको हलेसी महादेव किराँत, बौद्ध र सनातन हिन्दूहरुको संगमस्थल भएकोले आन्तरिक र बाह्य धर्मालम्बीहरुलाई लक्षित गरेको हलेसी तुवाचुङ नगरपालिकामा ४५ रोपनी क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरेको उनले बताए । उनका अनुसार रिसोर्टबाट ३६० डिग्रीमा हसेलीको भ्यु हेर्न पाइन्छ ।

पौवाका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले देशभर १५ वटा पौवा चेन बनाएको र ती पर्यटकीय गन्तव्य क्षेत्रसमेत रहेको भन्दै यसले पर्यटन विकासमा मद्दत पुग्ने औंल्याए ।

पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, सुदूरपश्चिमको धनगढी, पोखरा, काठमाडौंको गौशाला शाखा सञ्चालनमा ल्याइरहेको छ । पौवाले बाँकेको नेपालगञ्जमा पाँच तारे होटल ‘पौवा वेस्ट्रन’ निर्माण गरिरहेको छ ।

पौवाले एक दशकमा १०० शाखा विस्तारको लक्ष्यसहित ‘मिशन १००’ योजना अघि सारेको छ ।

९,श्रावण.२०८१,बुधबार १४:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्