
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले भोलि सरकार छोड्दैछन् । असार २० मा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले संविधानको व्यवस्था अनुसार पुरै ३० दिन अल्पमतको सरकार चलाए ।
१८ गते भित्र उनले विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने हुन्छ । सोही व्यवस्था अनुसार अन्तिम दिन १८ गते संसद्मा आफ्नो धारणा राखेर राजीनामा दिने मुख्यमन्त्री सोडारीको तयारी छ ।
विश्वासको मत कै लागि भन्दै हिजो नै प्रदेशसभा सचिवालय मुख्यमन्त्री सोडारीले पत्र पठाइसकेका छन् ।
‘उहाँले विश्वासको मत लिने गरी संसद् आह्वान गर्न आग्रह गर्नुभएको छ । तर, त्यहाँ उहाँले विश्वासको मत लिने सम्भावना कम छ,’ मुख्यमन्त्री सोडारी निकट स्रोतले भन्यो ‘संसद्मा सम्बोधन गरेर उहाँले प्रदेश प्रमुखसमक्ष गएर राजीनामा दिने सोचमा हुनुहुन्छ ।’
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सोडारीले विश्वासको मत पाउन २७ सांसदको मत आवश्यक पर्छ । तर, सोडारीले त्यति मत पाउने कुनै सम्भावना छैन । उनले आफ्नो पार्टीका ४ मत, नेकपा माओवादी केन्द्रको १० मत गरी १४ मत पाउने छन् ।
त्यसबाहेक नागरिक उन्मुक्ति पार्टीका एक सांसद सोडारी नेतृत्वको सरकारमा मन्त्री छन् । अर्का मन्त्रीलाई उनले केही दिन पहिले नै हटाइसकेका छन् । नाउपाले अझै विश्वासको मत दिने वा नदिने निर्णय गरेको छैन । स्वतन्त्र र राप्रपाको पनि कुनै टुङ्गो छैन ।
कुनै पनि अवस्थामा विश्वासको मत नपाउने भएपछि उनले संसद्मा सम्बोधन गरेर विश्वासको मत नलिएरै राजीनामा दिने योजना बनाएका हुन् ।
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी ३ महिना १२ दिन मात्रै सरकारको नेतृत्व गरेर बाहिरिँदै छन् ।
यता मुख्यमन्त्री सोडारी पदमुक्त हुने अघिल्लो दिनसम्म पनि भावी मुख्यमन्त्री को हुने भन्ने टुङ्गो लागिसकेको छैन । सुदूरपश्चिम प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भए पनि काङ्ग्रेसबाट को मुख्यमन्त्री बन्ने भन्ने अझै टुङ्गो लागेको छैन ।
अहिलेसम्म कांग्रेसमा संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री कमल बहादुर शाह, पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र कांग्रेसका पुराना नेता बहादुर थापा मुख्यमन्त्रीको दौडमा छन् ।
उनीहरू तीनै जनाले कांग्रेस नेतृत्वलाई आफूले मुख्यमन्त्री पाउनु पर्ने भन्दै लबिङ गरिरहेका छन् । तर, अझैसम्म पनि कांग्रेस सभापति शेरबहादुर देउवाले तीन जना मध्ये कसैलाई पनि ग्रिन सिग्नल नदिएको कांग्रेस स्रोतको भनाए छ ।
सुदूरपश्चिम प्रदेश सभापति देउवाको गृह प्रदेश पनि हो । आफ्नै प्रदेशको मुख्यमन्त्री बनाउने विषयमा देउवाले आफै चासो दिइरहेका छन् । तर, अझैसम्म पनि उनले मुख्यमन्त्रीकाको लागि कसैलाई अघि बढ्न भनिसेका छैनन् ।
‘हामी सबैले कुरा राखेका छौँ हुन्छ ठिकै छ सल्लाह गरौँला सभापति देउवाले यत्ति भन्नुभएको छ’ मुख्यमन्त्रीका आकाङ्क्षी मध्येका एक जनाले भने ।
अघिल्लो पटक केन्द्रमा एमाले माओवादी गठबन्धन हुँदै प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन सफल भएको भन्दै देउवा तत्कालीन मुख्यमन्त्री शाहप्रति सकारात्मक रहेका छन् ।
अर्का अकांक्षी देउवा सभापति शेरबहादुर देउवाका सहोदर भतिजा हुन् । अर्का आकाङ्क्षी थापालाई कांग्रेस नेता एनपी साउदले मुख्यमन्त्री बनाउन जोड दिइरहेका छन् । तिनै जनाको निकै रस्साकस्सी भएको हुँदा सभापति देउवालाई निर्णय लिन सकस भइरहेको कांग्रेस नेताहरू बताउँछन् ।
भोलि मुख्यमन्त्री सोडारीले ४ बजे विश्वासको मतका लागि संसद् फेस गरेर राजीनामा दिँदासम्म पनि कांग्रेसभित्रबाट को मुख्यमन्त्री बन्ने भन्ने विषय टुङ्गो लाग्न सकस हुने उनीहरूको बुझाइ छ ।
‘हामीहरू सबै भोलि फकिन्छौँ । भोलि सरकार ढल्दासम्म हामीले मुख्यमन्त्री टुङ्गो लगाउनु पर्छ भनेका छौँ तर, त्यही सहज छैन’ कांग्रेस एक सांसदले भने ।
प्रतिक्रिया दिनुहोस्