काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

किसानहरूको पीडा : मुला राम्रो फल्छ तर मूल्य पाइँदैन

2.9K
shares
khanepani bord

डोटी । डोटीको जोरायल गाउँपालिका-१ का हेमबहादुर बोहराले गत वर्ष २६ क्विन्टल मुला बिक्री गरे । यस वर्ष उनले हालसम्म करिब २० क्विन्टल बिक्री गरिसके, अझै बिक्री गर्न बाँकी छ ।

‘मुला राम्रो फल्छ, बिक्री पनि हुन्छ’ हेमबहादुर भन्छन् ‘तर मूल्य धेरै कम हुन्छ ।’ चैत्रको महिनामा मुलाको भाउ प्रतिकिलो ६० रुपैयाँसम्म पुगेको हेम बताउँछन् । उनी थप्छन् ‘त्यसपछि घट्दै घट्दै जान्छ, पोहर साल त सात रुपैयाँ किलो बेच्नु परेको थियो ।’

अचेल पनि १०/१५ रुपैयाँ किलो बिक्री गर्नु परेको हेमबहादुरको भनाई छ ।

हेम जस्तै ईशरादेवी घर्तिमगर पनि मुला खेती गर्थिन् । गत वर्ष ईशराले करिब ४० क्विन्टल मुला बिक्री गरिन् । तर, यस वर्ष भने उनले मुला लगाएकी छैनन् ।

‘सस्तोमा बिक्री गर्नु पर्ने, फाइदा केही नहुने’ ईशरा भन्छिन् ‘त्यसैले यसपालि मैले मुला लगाएन, बरु मुला लाउने ठाउँमा मकै छरेकी छु ।’

उनी मेहनत गरेर फलाएको उत्पादनले बजार नपाउँदा दिक्क हुने गरेको बताउँछिन् ।

अर्का किसान मान सिंह महताको दुखेसो पनि उस्तै छ ।

‘२५/३० क्विन्टल बिक्री भइसक्यो करिब त्यति नै अरू होला’ महता भन्छन् ‘सुरु सुरुमा त राम्रो भाउ पाइन्छ तर अब पाँच रुपैयाँ, सात रुपैयाँ किलो बेच्नु पर्ने अवस्था आउँछ ।’

उनी बेमौसमा मुला फलाउन सके भाउ पनि पाइने, बजार पनि पाइने बताउँछन् । आफूले बेमौसमी मुला खेती गर्न खोजेको तर पानीको अभाव भएका कारण गर्न नसकेको उनी बताउँछन् ।

उनी भन्छन् ‘किसानहरूलाई प्रोत्साहन गर्ने सरकारको नीति नै छैन, आफूसँग लगानी छैन ।’ सरकारले आफ्ना मान्छेलाई मात्रै अनुदान दिने गरेको, वास्तविक किसानहरुलाई कुनै सुविधा नदिएको उनको आरोप छ ।

डोटीमा उत्पादन भएको मुला कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा निर्यात हुने गरेको बताउँछन् जोरायल गाउँपालिका–१ गोगन पानीको तरकारी संकलन केन्द्रका सञ्चालक गोपाल मल्ल ।

‘कैलालीको चिसापानी, टिकापुर, लम्की, अत्तरिया, धनगढी र कञ्चनपुरको महेन्द्रनगर, झलारी लगायतका बजारहरूमा सप्लाई हुन्छ’ गोपाल भन्छन् ‘मुलाको माग राम्रै छ तर किसानहरूले भाउ पाइरहेका छैनन् ।’

उनले आफूले वार्षिक करिब पाँच सय क्विन्टल मुला निर्यात गर्ने गरेको बताए । आफू जस्तै अन्य ६/७ वटा संकलन केन्द्र रहेका उनी बताउँछन् ।

khanepani