खोलाले बगाएको स्थानबाट ५५ किलोमिटर पर भेटियो मञ्जुको शव

काठमाडौ । काठमाडौ शुक्रबार बेलुका दाङको तुलसीपुर उपमहानगरपालिका– ४ स्थित ‘नवलपुर ठूलो खोला’मा आएको बाढीले अटो बगाउँदा बेपत्ता भएकी १७ वर्षीया मञ्जु खड्काको शव भेटिएको छ।

आइतबार बिहान बबई गाउँपालिका-५ खैरभट्टी भन्ने ठाउँमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

शव भेटिएको स्थान अटो बगाएको ठाउँभन्दा ५५ किलोमिटर पर हो। त्यहाँ भेटिएको शव मञ्जुकै हो भनेर उनकी आमा ममता खड्काले सनाखत गरेकी हुन्।

शव पोस्टमर्टमका लागि तुलसीपुर ल्याउन लागिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

शुक्रबार बेलुका करिब पौने ७ बजेतिर ठूलो बर्षा पछि खहरे खोला ‘नवलपुर ठूलो खोला’ मा आएको बाढीले बगाउँदा तुलसीपर – ४ खाद्रेकी गाउँकी ५५ बर्षीया सीता आलेको पनि मृत्यु भएको थियो ।

उनको शव भने शनिबार बिहान तुलसीपुर – १५ स्थित हरिपौरी गनारीस्थित ग्वार खोलामा घटनास्थल भन्दा झन्डै १५ किलोमिटर टाढा फेला परेको थियो। सीता मञ्जुको मावली हजुर आमा हुन्।

दुर्घटनापछि मञ्जुकी माइजु सुनिता थापाले अटोचालकविरूद्ध जाहेरी दिएकी छन्। जाहेरीपछि अटोचालक खाद्रेकै ४६ वर्षीय हरिकिशन विकविरूद्ध लापारवाही गरी अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

हरिकिशनको अटोको इन्जिन र एउटा टायर मात्रै भेटिएको छ। शनिबार बेलुकी पख तुलसीपुर – ७ कालोखोलाको मन्दिर नजिकै पुरिएको अवस्थामा फेला परेको थियो।

मञ्जुको घर भने सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिका – १४ तेप्टेकाँडा हो। एसइई पास भएपछि एक महिनाअघि मात्रै उनी दाङको तुलसीपुर आएकी थिइन । तुलसीपुरस्थित गोरखा माविमा कक्षा ११ मा भर्ना भएकी उनी विज्ञान बिषय पढ्दै थिइन्।

मञ्जुको मामाघर खाद्रे हो। त्यहाँबाट टाढा पर्ने भएकाले उनी तुलसीपुरमा आफन्तको घरमा बस्थिन्। शुक्रबार मावलीबाट हजुरआमा र माइजु उनलाई भेट्न आएका थिए। शनिबार बिदा भएकाले शुक्रबार हजुरआमा र माइजुसँग उनी मामाघर जान लागेकी थिइन्।

खाद्रेकै ४६ वर्षीय हरिकिशन विक अटो चलाउँछन्। गाउँकै भएकाले उनीहरूले हरिकिशनलाई नै खोजे र खाद्रे फर्किन उनको रा १ ह ४०५५ नम्बरको अटो चढे।

अटोमा मञ्जु, उनकी हजुरआमा सीता, माइजु ३४ वर्षीया सुनिता थापा र उनका ७ वर्षीय छोरा सुशान्त आले थिए।

त्यसदिन सिमसिम पानी परिरहेकै थियो । बजार हुँदै तुलसीपुर– घोराही सडक खण्ड झन्डै दुई किलोमिटर पूर्वको यात्रा पछि तुलसीपुर – ७ पर्सेनी चोक आइपुग्छ। त्यहाँबाट उत्तरतर्फ बम्नै गाउँ हुँदै खाद्रे पुगिन्छ।

बीचमा थप दुईजना अटोमा चढे। उनीहरू वनहरी तल्लो नवलपुरको चौधरी गाउँमा ओर्लिए। चौधरी गाउँको केही उत्तर नजिकै ‘नवलपुर ठूलो खोला’ छ। त्यहाँ पुग्ने बेलासम्म साँझ परिसकेको थियो।

बाढी ठूलो देखिएपछि आफूले अटो खोलामा नहाल्नु भन्दा भन्दै चालकले खोलामा अटो हालेको र बीचमा अड्किएको सुनिताले प्रहरीलाई बताएकी छन्।

‘कटी हाल्छ भन्दै उहाँले अटो अगाडि बढाउनुभयो,’ सुनिताले आइतबार इप्रका तुलसीपुरमा दिएको जाहेरीमा उल्लेख छ।

बीचमा पुगेर अटो धर्मराउन थालेपछि सुनिता आँत्तिँदै झरेको र ७ वर्षीय छोरालाई बोकेर केही परको डिलमा पुर्‍याएर फर्किँदै गर्दा सासु र भान्जी चढेको अटो खोलाले बगाएको उनले बताएकी छन्।

अटो पल्टिएको ठाउँदेखि ठिक मुन्तिर चिरा जस्तै ठूलो खोल्सा थियो ।

त्यसपछि आउने शवदाह गृहको केही दक्षिण पक्की सिमेन्टको बाँध छ। त्यही बाँधमाथि बग्दै पुगेपछि स्थानीयले उद्धार गरेका थिए। बाँकीलाई भने अटोसहित बाढीले बगाएर लगेको थियो। प्रहरीले बेलुका ८ बजेतिर मात्रै सूचना पाएको थियो।

सुनिता थापाले दिएको जोहरीमा चालक हरिकिशन बिकले आफूले अटो खोलामा नहाल्न भन्दा भन्दै बेवास्ता गर्ने कमजोरी गरेको भन्दै कारबाहीको माग गरेकी छन्।

चालक हरिकिशनसँग पनि प्रहरीले प्रारम्भिक सोधपुछ गरेको छ।

उनले बाढी आएकाले खोला तर्न नसकिने भन्दाभन्दै यात्रुहरूले नै जबरजस्ती गरेको बताएका छन्।

‘मैले रोकेको थिए त्यतिखेर उहाँहरुले नै हाल्न भनेर उक्साउनु भएको हो,’ हरिकिशनको भनाइ उद्धृत गर्दै एक प्रहरीले भने, ‘बीचमा अटोको स्टार्ट नै बन्द भयो। त्यसपछि छिटो ओर्लिएर जान भनेँ। त्यतिखेर अगाडि बसेका आमा छोरा मात्रै ओर्लिर जानु भयो अरु झर्नु भएन,’ उनले भने।

आफूले भनेको बेलामा सबै ओर्लिएको भए यस्तो अवस्था नआउने चालक हरिकिशनले प्रहरीसँग भनेका छन्।

‘मैले भनेको मानेपछि आमा छोरा बाँच्नु भयो र उहाँले पनि त्यसै गरेको भए हुन्थ्यो , तर, बुहारीले भन्दापनि उहाँकी सासु झर्न मान्दै मान्नु भएन र त्यही बेला थप ठूलो बाढीको भेल आएपछि हामीलाई बगाएको हो,’ चालकको भनाई उद्धत गर्दै एक प्रहरीले भने।

२०,श्रावण.२०८१,आईतवार १६:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्