मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं-तराई/मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा-धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रू’ गरेका छन् ।
मकवानपुरको बकैया गाउँपालिका-१२ धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौं-निजगढतर्फको एक दशमलव ७२८ किमी लामो सुरुङ ब्रेक थ्रू गर्नुभएको हो । निजगढ-कामाठाडौंतर्फको एक दशमलब ६५३ किमी धेद्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नम्बर दुईअन्तर्गतका सबै सुरङ खोल्ने काम सकिएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, नेपालका लागि चीन र कोरियाका राजदूत पनि ब्रेक थ्रू समारोहमा उपस्थित थिए ।
प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराए । शर्माका अनुसार भौतिक प्रगति ३५ दशमलब ९८ प्रतिशत सकिएको छ ।
लेनडाँडामा रहेको निजगढ-काठमाडौंतर्फको एक दशमलब ६१२ किमी र काठमाडौं-निजगढतर्फको एक दशमलब ६३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ । तीन दशमलब ३२२ किमीको निजगढ-काठमाडौंतर्फको महादेवटार सुरुङ हालसम्म दुई दशमलब २९ किमी तथा तीन दशमलव ३८६ किमीको काठमाडौं-निजगढतर्फको दुई दशमलव २८८ किमी सुरुङ खनिसकिएको छ । सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।
द्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनको चरणमा रहेका छन् । बाँकी चार पुल खोकना क्षेत्रमा छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा जान नसकेको सेनाको भनाइ छ ।
प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७० दशमब ९७७ किलोमिटर छ । द्रूत मार्ग पहाडी भू-भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ । द्रूतमार्गमा १० दशमलब ३०९ किमी लम्बाइको ६ वटा सुरुङ बन्ने छन् । आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा शून्य दशमलव ३९ किमी, चन्द्राम भीरमा दुई दशमलब २५ किमी, महादेवडाँडामा तीन दशमलब ३५५ किमी, धेद्रेमा एक दशमलब ६९१ र लेनडाँडामा एक दशमलव ६२३ किमी लामो सुरुङ निर्माण हुनेछ ।
सो सडकमा विभिन्न स्थानमा १२ दशमलब ८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक वटा इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछ ।
मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको निजगढमा शिलान्यास गरेका थिए । सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्