काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समितिले सहकारी ठगीका पीडक पक्षसँग पनि छलफल गर्ने भएको छ ।
सोमबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सहकारी ठगी प्रकरणका पीडक पक्षसँग छलफल गर्ने निर्णय गरेको हो । समितिले विभिन्न जेलमा रहेका सम्बन्धित पीडकहरूलाई आवश्यक छलफल गर्नका लागि समितिमा उपस्थित गराउनका लागि गृहमन्त्रालयलाई आग्रह गरिएको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए ।
समिति निष्कर्षोन्मुख रहेको भन्दै अन्तिममा पीडकहरूसँग छलफल गरेर निर्णय प्रक्रियामा जाने उनको भनाइ छ ।
उनले भने, ‘करिब करिब हामी निष्कर्षतिर जान खोज्दैछौँ । पर्याप्त सुझावहरू हामीले लिइसकेका छौँ । प्रमाणहरू पनि जुटाइसकेका छौँ । अब जे-जे जुटेका छन् ती प्राप्त प्रमाणहरू र सुझावहरूका आधारमा हामीले प्रतिवेदन तयार गर्ने प्रक्रियाको सुरूवात गर्न लागेका छौँ आजबाट । अब पीडक पक्षसँग छलफल गर्न बाँकी छ । पीडक पक्षसँग पनि छलफल गर्ने जो विभिन्न जेलहरूमा छन्, विदेशमा छन् । गृहमन्त्रालयलाई आदेश पनि दिइसकेका छौँ कि हामीले, पीडकहरू जो छलफल गर्नका लागि आवश्यक छन् । ती सम्बन्धित पीडकहरूलाई समितिको कार्यालयमा उपस्थित गराउने भनेर आज हामीले एउटा निर्णय गरेका छौँ । अब अन्तिम पीडकहरूसँग छलफल गरिन्छ । त्यसपछि निर्णय प्रक्रियामा गइन्छ ।’
दाहालले समितिले प्राप्त गरेको प्रमाण र सुझावको आधारमा प्रतिवेदन तयार गर्न सुरू गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्