नेपालका सामुदायिक वनको अभ्यास अन्य मुलुकका लागि पनि अनुकरणीय : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक वनहरू अव उत्पादनमा लाग्नु पर्ने बताएका छन् ।

उनले समाजवाद उन्मुख आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि सामुदायिक वनको व्यवस्थापन संरचना संरक्षण सँगसँगै उत्पादन, उद्यम तथा रोजगारी उन्मुख हुनुपर्ने बताएका छन् ।

यसका लागि समयानुकूल नीतिगत तथा कानुनी संरचना र कार्यक्रम मार्फत यथेष्ट प्रयास गर्ने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे ।

सामुदायिक वन दिवस २०८१ को अवसरमा शुक्रवार शुभकामना व्यक्त गर्दै उनले सामुदायिक वन समूहहरूले वन संरक्षण र विकासमा खेलेको भूमिकाको प्रशंसा समेत गरे ।

कोशी प्रदेशमा ३ हजार ७११ वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत साढे चारलाख हेक्टर राष्ट्रिय वन क्षेत्रको संरक्षण तथा व्यवस्थापन गरिरहेको तथ्याङ्क छ । यसबाट करिब ६ लाख घरधुरीलाई प्रत्यक्ष फाइदा पुगेको छ ।

नेपालमा २२ लाख हेक्टर भन्दा बढी राष्ट्रिय वन क्षेत्र २२ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूहहरू मार्फत व्यवस्थापन हुँदै आएको छ ।

यसमा करिब ३० लाख घरधुरीहरूको सहभागिता रहेको मुख्यमन्त्री कार्कीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

नेपालको संविधान २०७२ जारी भएपछि राष्ट्रिय वन क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ ।

यसले प्रदेश र सिंगो देशलाई वन पैदावारमा आत्मनिर्भर बनाउन, काष्ठ तथा गैरकाष्ठजन्य वन पैदावारको आयातलाई प्रतिस्थापन गर्नका साथै वनजन्य उद्यम विकासको माध्यमबाट रोजगारीको सिर्जनासमेत भएको मुख्यमन्त्री कार्कीले बताए ।

सरकारले वनको व्यवस्थापन जनसहभागिताबाट गर्ने नीति अनुसार सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा पर्ने वन क्षेत्र २०३० साउन २५ गते समुदायलाई संरक्षण र व्यवस्थापनको जिम्मा दिएको दिनलाई स्मरण गर्दै २०७३ सालदेखि साउन २५ गते राष्ट्रिय सामुदायिक वन दिवसका रूपमा मनाउने गरिएको छ ।

यस वर्ष भने ‘सामुदायिक वनको प्रभावकारिता तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ आज दिवस मनाइँदै छ ।

२५,श्रावण.२०८१,शुक्रबार ०७:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्