काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पत्रकार सम्मेलन जारी छ । डेडिकेटेड र ट्रंक लाइन विवादबीच उनले राखेको प्रेसमिटमा पुगेका पत्रकारले अहिलेको जल्दोबल्दो विषय यही नै होला भन्ने सोचेका थिए । हिजोमात्र प्राधिकरणले लेखा समितिमा टीओडी डेटालगायतका विवरण बुझाएको सन्दर्भमा यो स्वाभाविक थियो ।
तर, सम्बोधनको सुरूमै घिसिङले ले प्रष्टीकरण दिए, ‘आज म ट्रंक लाइन र डेडिकेटेडको विषयमा कुरा गर्न आएको होइन ।’
उनले आफू नियुक्त भएकै दिनलाई रोजेर हरेक वर्ष साउन २५ गते पत्रकारसँग भेटघाट गर्ने गरेको बताए । उनले आफूले गरेको कामको प्रगति सुनाउँदै भने, ‘कतिले प्राधिकरणको नाफा कागजी भने तर त्यो नाफा कागजी थिएन ।’
घिसिङका अनुसार प्राधिकरणले अहिले ८२ अर्ब नाफा कमाएको छ । यसमा डेडिकेटेड र ट्रंक लाइनको विल नजोडिएको बताए । प्राधिकरण सिद्धिन लागेको नभई झन् बलियो भएको जिकिर गरे ।
तीन वर्ष अघि नियुक्ति हुँदा जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार्न आफू प्राधिकरण फर्किएको उनको भनाइ थिए । ८ वर्षअघि (आर्थिक वर्ष २०७२/७३) मा विद्युतीकरण ५८ प्रतिशतमात्र भएको, ३ वर्षअघि ८९ प्रतिशत रहेकोमा अहिले ९९ प्रतिशत पुगेको उनले सुनाए ।
देश छिट्टै पूर्ण रूपमा विद्युतीकरणको घोषणा गर्ने तयारी रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्