चोरी मुद्दामा पाँच वर्ष कैद भुक्तान गरि छुटेको हप्ता दिन नपुग्दै चोरी आरोपमा एक युवक पक्राउ

धनगढी। धनगढीमा चोरी मुद्दामा पाँच वर्ष कैद भुक्तान गरि छुटेको हप्ता दिन नपुग्दै चोरी आरोपमा एक युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-१८ फुलबारी बस्ने ३१ वर्षीय हर्कबहादुर गिरीलाई बिहीबार सुन र चाँदीका गरगहना चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले धनगढी उप-महानगरपालिका-४ बसपार्कका योगेन्द्र ओझाको घरबाट नगरसहित चोरी गर्ने गिरीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार गिरीले घरमा कोही नभएको मोका बुधबार बिहान ओझाको घरबाट नगद २५ हजार नगद, अन्दाजी ६० तोला चाँदी र १५ तोला सुनका गरगहना चोरी गरेको खुलेको बिष्टले बताए ।

उनका अनुसार सीसीटीभी फुटेजका आधारमा गिरीको पहिचान गरेर धनगढी उपमहानगरपालिका- १ स्थित अमन नेपाली बस्ने घरकोठाबाट पक्राउ गरिएको हो ।
गिरीको साथबाट चोरी गरिएको चाँदीको करुवा, दिया, कचौरा, बाला, सिक्री, पायल लगायतका अन्य विभिन्न किसिमका गरगहना, सिक्का, घडी र नगद ६ हजार १३५ बरामद गरिएको छ ।

गिरीलाई हिरासतमा राखेर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गिरी चोरी मुद्दामा जिल्ला अदालत कैलालीबाट ५ बर्ष कैद सजाय भएर २७ कात्तिक २०७७ देखि कारागार कार्यालय कैलालीमा कैद भुक्तान गरिरहेका थिए ।

१७ साउनमा कैद भुक्तान गरि छुटेका गिरी हप्ता दिन नबित्दै फेरि चोरी आरोपमा पक्राउ परेका हुन् ।

२५,श्रावण.२०८१,शुक्रबार १७:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्