गाजामा शनिबार दिउसो एक विद्यालय परिसरमा भएको हृदय विदारक इजरायली आक्रमणप्रति विश्व समुदायले गम्भीर चासो व्यक्त गरेको छ ।
फ्रान्सले आक्रमणको कडारूपमा निन्दा गर्दै भनेको छ, “पछिल्लो समय विस्थासपत गाजावासीले शरण लिँदै आएका विद्यालय भवन र परिसरमा भएका आक्रमणलाई फ्रान्सले नजिकबाट अध्ययन गरिरहेको छ । विस्थापित गाजावासीको आश्रयस्थलमा भएका आक्रमण अक्षम्य छन् । फ्रान्स यस्ता गतिविधिको घोर भत्र्सना गर्छ ।”
आक्रमणको युरोपेली सङ्घ, चीन, बेलायत, टर्की, रूस, कतार, इराक, इरानलगायत देश र सङ्घसंस्थाले पनि निन्दा गरेका छन् ।
“इजरायलले एउटा अस्पताल, विद्यालय र शरणार्थी शिविरमा आक्रमण गर्दा ठूलो मानवीय क्षति भएको र अधिकांश महिला बालबालिका र सर्वसाधारण हताहत भएका छन्,” प्यालेस्टिनी भूभागमा अधिकारको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानीजले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ ।
त्यसैगरी, इराकका शीर्ष शिया मुस्लिम धर्मगुरु ग्रान्ड अयातुल्लाह अली सिस्तानीले इराननिकट दुई लडाकू नेताको हत्यापछि क्षेत्रीय तनाव र सम्भावित ‘विनाशकारी परिणाम’ को जोखिम रहेको शनिबार बताउनुभएको छ ।
सिस्तानीले गाजामा जारी ‘नरसंहार’ र युद्ध अन्त्य गर्न पनि आग्रह गर्नुभएको छ । दुर्लभरूपमा राजनीतिक गतिविधिबारे अभिव्यक्ति दिनुहुने इस्लामिक धर्मगुरू सिस्तानीले एक सन्देश जारी गर्दै भन्नुभयो, “गाजामा जारी अपराधको श्रृङ्खलामा फेरि एउटा निन्दनीय घटना थपिएको छ । इजरायली सेनाले गाजामा ठूलो नरसंहार गरेको छ ।”
—
प्रतिक्रिया दिनुहोस्